'म ढाक्रे'
---- राजेश चोच्छे
- - - - - - - - - - - - - -
म ढाक्रे
नदी तिरैतिरको निरन्तर यात्रामा
निधारको नाम्लोले
दु:खको गहिराई र
सपनाको उँचाई
नाप्दै हिँडिरहेछु
तारेभीर र अक्करहरुमा
कर्तब्यको भारी बिसाउँछु
लटरम्म फलेका
विश्वासका विसौनीहरुमा
पुनः बोकेर हिँड्छु
धमिलिँदै गएको
चन्द्र छुने लालसा र
परिवारको दुईछाक खुशी
बोक्दै आएको छु बर्षौंदेखि
झुपडीले जुनी फेर्ने कर्कटपाताहरु
पक्किघरका सिमेन्ट र ईंट्टाहरु
संस्कारका सील्पहरु
अस्तित्वका गजूरहरु
यत्तिका वर्षपछि पनि
नियालिरहेछु
तिम्रो भरिँदैगरेको ढुकुटी र
मेरो रित्तिँदै गएको
कर्णधार ढाडसहरु,
पलायन हुन सुरसार गर्ने
परदेशी सपनाहरु
अनि थुम्थुमाउँदैछु
विद्रोह गर्न तम्सिने
बन्धक स्वाभिमानहरु
सन्तानको खुद्राखुद्रि खुशी
टिपनटापनमै बितिरहेछ
तिनपुस्ते तमसुकमा अल्झेको
यो सुकुम्बासी मन
कहिलेकाहिं बेस्सरी सराप्न मनलाग्छ
श्रापित उमेरको भारी बोकाएर
आँशुले जीवनको रेखा कोरिदिने
विधाता भनाउँदोलाई
फेरिपनि
उदेकलाग्दो अक्करको भीरमा
एउटा सग्लो जीवनको परिभाषा
बोलाईरहन्छ मलाई
पाखाभरि सुनाखरि मुस्काउँदै
त्यसैले
नदी तिरैतिरको निरन्तर यात्रामा
निधारको नाम्लोले
दु:खको गहिराई र
सपनाको उँचाई
नाप्दै हिंडिरहेछु
म ढाक्रे ।।।
--- जोरपाटी, काठमाडौं ।
नेपाली कविता : म ढाक्रे [ सर्जक : राजेश चोच्छे / जोरपाटी, काठमाडौं ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
Labels:
कविता
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment