Pages

Home » , » गजलको संरचना : गोर्खे साइँलो ’सूत्रमाला'

गजलको संरचना : गोर्खे साइँलो ’सूत्रमाला'

गजलको संरचना बुझ्नका लागि गजलका केही तत्वहरू बुझ्नु आवश्यक हुन्छ जसको छोटो चिनारी यसप्रकार छ :
, शेर :
केही नियमबद्ध शब्दहरू मिलेर बनेका शेरहरूको समष्टिगत रुप नै गजल हो । गजलका प्रत्येक दुई मिसरालाई शेर भनिन्छ । शेरको माथिल्लो मिसरालाई मिसरा-ए-उला र तल्लो मिसरालाई मिसरा-ए-सानी भनिन्छ । मिसरा-ए-उलाले भावको उठान गर्छ भने मिसरा-ए-सानीले त्यसको पुष्टि गर्छ ।

२, मतला :
गजलको माथिल्लो शेरलाई मत्ला भनिन्छ । यसले गजलको सुरुआत गर्छ । यसका दुईटै मिसरामा काफिया र रदीफ या रदीफविहीन गजल हो भने काफियाको मात्र प्रयोग भएको हुन्छ । यदि कुनै गजलमा दुईटा मतला देखिएको छ भने तल्लोलाई हुस्ने मतला वा मतला-ए-सानी भनिन्छ ।

३, मक्ता :
गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ जुन बीचका अरु शेरहरूजस्तै हुन्छ । मक्ताको कुनै मिसरामा गजलकारले आफ्नो छोटो नाम वा उपनामको प्रयोग अर्थपूर्ण तरिकाले गरेका हुन्छन् । यस्तो उपनामलाई तखल्लुस भनिन्छ तर तखल्लुसको प्रयोग भने अनिवार्य मानिदैन ।

४, काफिया :
गजल संरचनाको अपरिहार्य तत्व नै काफिया हो । स्वर समता र तुकबन्दीयुक्त अनुप्रासिक शब्दलाई काफिया भनिन्छ । यो मत्लाको दुवै मिसरामा र बाँकी शेरहरूको तल्लो मिसरामा रदीफको अगाडि वा रदीफविहीन गजलमा अन्तिममा प्रयोग हुने गर्दछ । यस्ता काफियाहरू चार किसिमका हुन्छन् ।
क, पूर्ण काफिया :
पूर्ण शब्दको प्रयोगलाई पूर्ण काफिया भनिन्छ जस्तैः गर्न तर्न छर्न झर्न मर्न आदि ।
ख, आंशिक वा शब्दांश काफिया :
शब्दका अन्तिमका केही अक्षरहरू काफियाको रुपमा प्रयोग भएका छन् भने त्यस्तालाई शब्दांश काफिया भनिन्छ । जस्तैः कहानी सिरानी निशानी जवानी जिन्दगानी तानी आदि ।
ग, एक अक्षरे काफिया :
शब्दको अन्तिम अक्षरलाई मात्र काफियाको रुपमा प्रयोग गरिएको छ भने त्यस्तालाई एक अक्षरे काफिया भनिन्छ जस्तैः कथा सदा मजा गला आदि त्यस्तै हो त्यो रातो कालो आदि ।
५, रदीफ :
मत्लाको दुवै मिसरा र बाँकी शेरहरूको तल्लो मिसराको अन्तिममा दोहरिएको पदावलीलाई रदीफ भनिन्छ । यो प्रायः एक शब्ददेखि तीन शब्दसम्म भएको राम्रो मानिन्छ । एक शब्द प्रयोग भएको रदीफलाई एकल रदीफ र एकभन्दा बढी शब्द प्रयोग भएको रदीफलाई बहुल रदीफ भनिन्छ । रदीफचाहिँ गजलको अपरिहार्यताभित्र पर्दैन तर भने गजलमा मिठास बढाउनका लागि यसको प्रयोग राम्रो मानिन्छ ।
६, बहर :
कुनै नियममा बाँधिएका शेरहरूको वजनलाई बह्र वा बहर भनिन्छ । बहरहरू मुख्यतया तीन किसिमका हुन्छन् ।

क, नेपाली बहर
ख, मात्रिक बहर
ग, शास्त्रीय बहर

क, नेपाली बहर :
केवल आक्षेरिक एकरुपतालाई आधार मानी आफनै शैलीमा लेखिने बहरलाई नेपाली बहर भनिन्छ । आवश्यक अनुसारको ६ ७ ८ ९ १० वा ११ १२ जति अक्षरका मिसरामा गजल लेख्न सकिन्छ । हेरौँ केही नमुनाहरूः

१) यो हो ६ अक्षरको मिसरा: यो मिसरा १० मात्रामा पनि आधारित छ
मिठो प्यार पाएँ
काखमा रमाएँ । - गोर्खे साइँलो

७, अक्षरका मिसरा: यो मिसरा १३ मात्रामा पनि आधारित छ
प्यासमा पानी पायौ
साथमा माया लायौ । - गोर्खे साइँलो

३, त्यसै गरी अर्को १६ अक्षरका मिसरा: यो मिसरा ३० मात्रामा पनि आधारित छ
समेनामा बोकी ल्यायौ भएँ प्यारा घर्की रानी
तिमी हुँदा तातो प्याला भएँ आफैँ पानी पानी । - गोर्खे साइँलो

ख, मात्रिक बहर :
यी तल देखाइएको बहरहरू मात्रामा आधारित छन् । अक्षर गन्दा कम बेश भए पनि यसका सबै मिसरामा गणना गर्दा मात्रा बराबर हुन्छ । हेरौँ यसका केही नियम र नमुनाहरू यसप्रकार छन्:

१) १७ मात्राका मिसरा:
सिरानी यो हातमा निदाऊ
आउ मेरो साथमा निदाऊ । - गोर्खे साइँलो

२) त्यसै गरी २४ मात्राको यो मिसराः
जागरुकताको दियो बालेर आए हुन्छ
सँगै लाने अधिकार पालेर आए हुन्छ । - गोर्खे साइँलो

ग, अब छोटकरीमा शास्त्रीय बहरको परिचयः
बहरको नाम लिनु पर्दा सर्वप्रथम त लउर्दू-फारसीमा बहर भनिने शब्द नै नेपालीमा प्रचलित पिङ्गल छन्द नै हो भन्ने बुझ्न जरुरी छ । अब गजलमा प्रयोग हुने बहरहरूको जानकारीका लागि तल देखाइएका केही तत्वहरू बुझ्न आवश्यक हुन्छ । तिनै तत्व वा शब्दहरूलाई यहाँ छोटो उदाहारण प्रस्तुत् गरिएको छ ।

१) बहरको उक्त तत्वलाई रुक्न भनिन्छः
रुक्न भनेको गण हो । उर्दू भाषाको लेखाइ अनुसार रुक्नचाहिँ एक अक्षरेदेखि सात अक्षरेसम्म प्रयोग भएर बन्ने गर्दछन् । रुक्नहरू भनेको पनि पिङ्गल छन्दमा गण भनेजस्तै लघु । र दीर्घ ऽ बाट बनेका हुन्छन्

२) अर्कान:
अर्कानलाई रुक्नको खम्बा भनिन्छ । तिनै अर्कानहरूलाई नै टुक्र्याएर आलग-अलग रुक्नको निर्माण गरिन्छ र त्यसलाई जिहाफात भन्दछन् । यसले गणजस्तै बहर निर्माणमा भूमिका खेल्दछ । यस्ता अर्कानहरू आठओटा हुन्छन् जसलाई दुई भागमा विभाजन गरिएको छ:

क, सबाई अर्कान
ख, खामसी अर्कान

सबाई अर्कान:
निम्न अनुसारका ह्रस्व र दीर्घ अक्षरहरूको संयोजनबाट बनेको सात मात्रिक शब्दलाई उर्दूका शब्दमा भन्नु पर्दा सबाई अर्कान भनिन्छ । यसको सङ्ख्या छओटा छ ।

१, फाइलातुन् ऽ।ऽऽ बराबर ७ मात्रा
२, मुस्तफ्इलुन् ऽऽ।ऽ बराबर ७ मात्रा
३, मफाईलुन् ।ऽऽऽ बराबर ७ मात्रा
४, मुतफाइलुन् ॥ऽ।ऽ बराबर ७ मात्रा
५, मफाइलतुन् ।ऽ॥ऽ बराबर ७ मात्रा
६, मफ्ऊलात ऽऽऽ। बराबर ७ मात्रा

खमासी अर्कान:
उर्दूका पाँचओटा अक्षरहरूको संयोजनबाट बनेका पाँच मात्रिक अर्कानलाई खमासी अर्कान भनिन्छ । यसको सङ्ख्या २ ओटा छ :

१, फऊलुन् ।ऽऽ। बराबर ५ मात्रा
२, फाइलुन् ऽ।ऽ। बराबर ५ मात्रा

३, मुसम्मन्:
गजलको एउटा मिसरामा एउटै वा फरक-फरक गरी बनेका जम्मा चारओटा अर्कानहरू छन् भने त्यसलाई मुसम्मन् भनिन्छ ।

४, मुसद्दस्:
त्यसैगरी एउटा मिसरामा एउटै वा फरक-फरक गरी जम्मा तीनओटा अर्कान छन् भने त्यसलाई मुसद्दस् भनिन्छ ।

५, मुरब्बा:
कुनै पनि एउटा मिसरामा एउटै वा फरक-फरक गरी जम्मा दुईओटा अर्कान छन् भने त्यसलाई मुरब्बा भनिन्छ भने फरक-फरक अर्कानबाट बनेको मुरब्बा बहरको नामकरण भएको देखिन्न ।

६, सालिम:
एउटा मिसरामा पूर्ण रुपले एउटै अर्कानको आवृत्ति भएको छ भने त्यसलाई सालिम भनिन्छ ।

७, मुदाइफ:
दुई गुना गर्नुलाई मुदाइफ भनिन्छ ।

शास्त्रीय बहरको किसिम:
गजलका बहरलाई ३ भागमा वर्गीकरण गरिएको छ:
अ, मुफरद बहर मूल छन्द
आ, मुरक्कब बहर मिश्रित छन्द
इ, मुजाहिफ बहर परिवर्तित छन्द

अ, मुफरद बहर:
एउटै अर्कानको आवृत्तिबाट बनेको बहरलाई मुफरद बहर भन्ने गरिन्छ । यस अन्तर्गत सातओटा बहर पर्दछन् । यसका नाम र केही नमुनाहरू यस प्रकार छन्:

१) बहरे मुतकारिब:
क, मुसम्मन् सालिम पिङ्गल छन्द - भुजङ्गप्रयात
सूत्र: फऊलुन् × ४ ।ऽऽ × ४
।ऽऽ ।ऽऽ ।ऽऽ ।ऽऽ
नमुना-१, हिमाली छटामा रमाएँ घुमेर
पहाडी चिनारी बनाएँ घुमेर । - गोर्खे साइँलो

नमुना-२, दिवानी बनाई सटायौ तिमीले
फकाई फुलाई बसायौ तिमीले । - गोर्खे साइँलो ’सूत्रमाला'
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger