Pages

Home » » नेपाली कविता : अर्पन्छु पुष्पाञ्जली [ कोमल भट्ट]

नेपाली कविता : अर्पन्छु पुष्पाञ्जली [ कोमल भट्ट]

अर्पन्छु पुष्पाञ्जली

ब्रह्मा विष्णु महेश आदि सब हौ,हौ मुक्ति दाता तिमी
ब्रह्मै हौ,परब्रह्म हौ,जनक हौ,माता र भ्राता तिमी
तिम्रो स्नेह मिल्यो र जीवन सँधै चम्क्यो धिपिक्कै बली
हे प्यारा गुरुदेव ! श्री चरणमा अर्पन्छु पुष्पाञ्जली ll १ ll

बाँड्यौ ज्ञान पवित्र अमृत सधैँ सन्मार्ग मेरो खुल्यो
रोपेथ्यौ विरुवा अतीव कलिलो पाएर माया फुल्यो
डोर्यायौ करमा समाइ अहिले सम्झन्छु त्यो झल्झली
हे प्यारा गुरुदेव ! श्री चरणमा अर्पन्छु पुष्पाञ्जली ll २ ll

पीडामा,भयमा तथा सकसमा चोखा दिलासा भर्यौ
फस्दा खाडलमा झिकेर सहजै सम्पूर्ण बाधा हर्यौ
सोच्यौ मात्र भलो पवित्र मनले सोचेन कैल्यै छली
हे प्यारा गुरुदेव ! श्री चरणमा अर्पन्छु पुष्पाञ्जली ll ३ ll

जे जे थ्यो मनमा विकार ननिका सारा पखाली दियौ
पाएँ कोमल जिन्दगी सरल यो मेरो विधाता थियौ
सम्झी आज महान मानव तिमी भो आँसु नै भल्भली
हे प्यारा गुरुदेव ! श्री चरणमा अर्पन्छु पुष्पाञ्जली ll ४ ll

-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger