Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (26) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » अक्षरको बिस्कुन

अक्षरको बिस्कुन

साहित्यसंसार डट कम :




मनलाई अक्षरहरूमा पोख्ने बानी आफूलाई पुरानो जस्तो लाग्न थालेको छ । निकै भो त्यसो गर्न थालेको । मन लाग्यो कि अक्षरमा पोखिने केहीबेर गीतमा, संस्मरणमा अनि केहीबेर आलेखमा अल्झने गरेको छु । आलेखमा मनलाई पोख्ने अलिबढी खोजीनिती गर्नुपर्छ । अलिकति बुद्धीले काम गर्नुपर्छ । बुद्धि त पुर्याएँ कि पुर्याइँन, तर केही आलेखहरूमा बरालिएँ । कविता र निबन्धमा भने मनलाई त्यति बाँधिरहनु पर्दैन । धेरै, थोरै जति मनलाग्छ पोखिए भयो, जस्तो मनलाग्छ छर्किए भयो । अक्षरमा पोखिएको बेला अलिकति उकुसमुकुसको अनुभव भने हुने गर्छ तर त्यो उकुसमुकुस आफै पोखिइसकेपछि आफै हराउछ तर फेरि अर्को आशङ्का सँगसँगै उत्पन्न हुन्छ । आफुले मिलाएर राखेका अक्षरहरूलाई अरुले लत्पतिएका बाँङ्गाटिङ्गा भनिदिने हुन् कि, अक्षरका ताँती मात्रै लामो भएर ती कतै पनि नपुग्ने पो हुन् कि, ख्याउटिएर मरञ्च्यासे जस्तै धुक्धुकी मात्र रहने हुन् कि, वा गजधम्मे मोटिएर अरुले छुन पनि हिच्किचाउने हुन्, अक्षरमा पोखिने बेलामा निकै तारतम्य मिलाउनु पर्नेरहेछ । जसरी तसरी पोखयो, सुकायो, फेरि आफूलाई ठीकै लागेका अक्षरका बिस्कुनहरू अरूलाई, देख्नेलाई पनि ठीकै लाग्छन् भन्ने छैन । देख्नेले उसको इच्छाअनुसार देखिदिन्छ र पो मार्यो । आफुले ठानेअनुसार देख्नेले दृश्य ठानिदिए त पुगिहाल्थ्यो नि । तर उस्को मन र आफ्नो मन कहाँ एउटै हुन्छ र ।

आ ! जसरी उस्को खुशी भन्दै जागर लागेको बेला मनलाई अक्षरमा पोखिदिने गरेको छु । यसरी मनलाई पोखेपछि केहीबेर हलुका अनुभव हुँदोरहेछ । आखिर अलिकति सन्तोष त हो नि । फेरि पनि केहीबेरलाई यही मन भुइँमा न भाँडामा भएर अरुलाई सुनाउनु पर्ने, देखाउनु पर्ने, देखिदेवस, बोलिदेवस र लेखिदेवस् भन्नुपर्ने ! केके न गरेजस्तो गरेर उफ्रिनु पर्ने, सगरमाथाको टुप्पैमा चढेर रेकर्ड राखेजस्तो गरी स्वाँग पार्नु पर्ने ! काम भने केही होइन है आफ्नो, २/४ हरफ केही केही कोरिटोपलेको हो । त्यतिकै भरमा त्यत्रो उखरमाउलै मच्चाउनु पर्ने त केही जरुरी होइन, तर यही मन न हो त्यस्तै गर्न तम्सिइहाल्दो रहेछ ।

बेलाबखत, कसैले आफ्ना अक्षरमाथि 'राम्रो' भनिदिएको छ भने पुक्किएको छु । बेलाबखत, कसैले छेउ न टुप्पाका अक्षरका ताती ! के कलम घिसारेको त्यस्तो भनेर छड्के हानेको छ भने थच्चिएको छु । बेलाबखत, कसैका नजरमा मेरा अक्षरहरू अड्केर, बिझाएर अक्षरको बदला लिन मलाई नै सत्तोसराप गरेको छ भने झस्किएको छु । पुक्किए पनि, थच्चिएपनि र झस्किए पनि बानी लागेपछि लाग्यो लाग्यो, नानीदेखिको बानी पो त, कसले सजिलै छोड्न सक्छ ! अक्षरलाई छर्न पाए बेग्लै आनन्द । सक्नेले छोड्ला उसको खुशी । आफू त कुनै महाशक्ति आएर हातमा अँठ्याउछ, घाँटीमा समातेर घोक्र्याउँछ भने पनि जसोतसो कलम घिसारेर अक्षरको टाटाटुटी बनाउन पछि हटिँदैन भन्ने साहस पो आइसकेको छ । कसको तागत मेरो कलमलाई बन्द गर्न ? हेरौँ त ! आदि इत्यादि भन्दै मन दह्रो पारेर बसेको पनि छु ।

फेरि अर्को मनले कताकताबाट शङ्काको सिस्नु ल्याएर छ्याम्म हान्छ । धाक् लाउन त सजिलो छ, जसले पनि सक्छ । अरुलाई धाक लाएर मात्र के गर्ने ! आफूले लेखेको कुरा राम्रो, छरितो, फुर्तिलो, खाइलाग्दो, आशलाग्दो, लोभलाग्दो र हेर्दै धपधप् बलेर तप्तप् रस चुहिरहेजस्तो भए पो अरूका अगाडि फुइँ लाएर नाक घोक्र्याउन सुहाउँछ, होइन भने फुइँ लाउनुको कुनै तुक नै छैन । यसो आफूले यसअघि सुकाइटोपलेका अक्षरहरूको बिस्कुनलाई टिठ्याउँदै हेर्छु, कतै ढुङ्गा मिसिएको देख्छु, कतै बालुवाका कण टल्किरहेको देख्छु, कतै घुन लागेर अक्षर मक्काइसकेका छन्, कतै भुसुना झुम्मिएका छन्, कतै झिँगा भन्किरहेका छन् त कतै धुलियाले खाइसकेका छन् । आफूले राम्रा, आला अक्षरका बिस्कुन भनेर, गजक्क परेर यसबेलासम्म ढुक्कले बसिरहेको त त्यस्तो होइन पो रहेछ । आफूले सुकाएको बिस्कुन देखेर आफैलाई खल्लो लाग्न पो थालेको छ आजकल । आफ्नु बिस्कुनसम्बन्धी कहीँ कसैसँग कुरा गर्न पनि मन लाग्न छोडेको छ ।

अरुका आँखाको तातो रापमा रापिएर, अरूका मगजको चाल्नीमा चालिएर, अरुका बुद्धि र विवेकको तराजुमा तौलिएर मात्र पो अक्षरहरूको वजन निर्धारित हुँदोरहेछ । तिनको शक्तिको परीक्षण हुँदोरहेछ । आफूले बल्लतल्ल बटुलबाटुल गरेर, गेडा गेडा गनेर बिस्कुन लाएका अक्षरहरूको पुचुर्कोलाई म निकै वजनदार, दमदार र रौनकदार भनेर गजक्किन्थेँ । किन त्यसो हुन्थ्यो र ! मैले त लेख्नुको नाममा नाउँ मात्रैका अक्षरहरू मात्रै बग्रेल्ती थुपारेँछु । सिर्जना गरेँ भनेर सिर्जनाकै इज्जतलाई आफ्नो अनुकूल अर्थ्याउँदै घाममा टट्यँाएछु, आफूले सुकाएको सानु नाङ्ले बिस्कुनलाई ठूलो खलामा सुकाएको भन्ने भ्रम छरेको रहेँछु, आफ्नो मात्र बिस्कुन अब्बल दर्जाको भन्दै डुक्रँदै छरछिमेकका, इष्टमित्रका, साथीसङ्गीका मिहिनेत र पसिनाले भिजेको बिस्कुनलाई तथानाम गाली गर्दै, हेप्दै हिँडेछु ।

ठूला ठूला लेखक स्रष्टाका अगाडि यसो २/४ वटा सिर्जना नामका टुहुरे, पिलन्धरे अक्षरहरू शिला खोजेर मरिचे पोको पार्दैमा, सोहोरसाहार गरेर एउटा नाममात्रको पुस्तकरूपी कागजको बिटो निकाल्दैमा लेखक भइने भए किन अर्थोक गर्ने त्यतिकै भरमा ठूलो साहित्यकार, लेखक, विद्वान् भइहालिन्थ्यो नि ! त्यतिकै भरमा ती महान् स्रष्टाहरूलाई सम्झिएको हो र ! त्यसै हुने भए भानुभक्त, मोतीराम, देवकोटा, पौडेल, सम, सूधपा, रिमाल, घिमिरे, पारिजात, सिद्धिचरण आदि महान् साधकहरूलाई किन सम्झिनु ! उनीहरूलाई बिर्से भइहाल्थ्यो नि !

यो तत्वज्ञानको सानु झिल्कोले चस्स पोलेको पनि हो । सिर्जनामा सत्य, शिव र सुन्दरको त्रिवेणी बग्नुपर्छ, अक्षरहरूमा जीवन, समय, कला र अनुभूतिको एकीकृत संगम फैलिनुपर्छ भन्ने अलिकति बोध भएर पनि किन तिनले आफ्ना अक्षरहरूलाई छुन सकेनन् ? यही कठिनतम् प्रश्न अहिले भर्भराउँदो बनेर उभिएको छ । त्यसैको तापले डामिरहेको छ । त्यही तापमा रन्थनिँदै आफ्नै अल्पज्ञान, अल्प बुझाई र अल्प अध्ययनको कारणले पो यसो भएको हो कि भन्ने ठानेर यतिबेला घोसेमुण्टो लाएर बसेको छु । सामुन्नेमा आफ्नै अक्षरको बिस्कुन छ ।

कतैबाट अलिकति बतासको सानु झोक्काले फुर्र उडाएर लैजाने खाल्का अक्षरको बिस्कुनले मेरो हातको कलमलाई गिज्याइरहेको छ । मलाई सुकाएका अक्षरहरूले आँखामा घोचिरहेका छन् । आफैंले जन्माएर सुकाएका अक्षरहरूप्रति बडो करुणा उम्लेर आइरहेको छ ।

हातपाखुरामा जाँगर हराउँदै गएर समातेको कलम भुइँमा झर्ला कि जस्तै भएको छ । आँखा अन्त जाँदैनन्, बिस्कुन तिरै र्फकन्छन् । भन्न त मनमनै भन्दैछु नि - कमसेकम यिनलाई हावाले नउडाइदिए हुन्थ्यो, आफैले केही नभई दिए हुन्थ्यो ! आफ्नालागि मात्रै प्यारो लागेर नहुने रहेछ-अक्षरहरू । के मेरा अक्षरहरू पनि घाममा सेकिएर, रापले खारिएर, पोलिएर खिरिला, तेजिला भएर बाँचिरहनु सक्लान् त ? के तिनले चर्को घामको पोल्दो तापलाई सहिरहन सक्लान् त ? आजभन्दा भोलिको घाम झन् चर्को हुनसक्छ, त्यसलाई मेरा अक्षरहरूले खप्न सक्लान् त ?

अलि पुट्टझैँ देखिएको दानामा आँखा अडिन्छन् । कतै यसको पनि चिरफार, अप्रेसन भयो वा एक्सरे गरियो भने अर्कैको गुदी मिसाएको पो रहेछ भन्ने बात लाग्ला कि ? कसैले अर्घेल्याइँ गर्दै, सत्तो सराप गर्दै अँगेनामा हालेर खार्न खोज्यो भने त्यहीभित्र खरानीको घूलो पो बन्ने हो कि ? बिस्कुनका अलि नचाउरिएका दाना हेर्दा हेर्दै अनेक चाहिने-नचाहिने आशङ्काले झन् बढी सताउन थालेको छ ।

फेरि मन दह्रो पारेर अरु नै दानातिर आँखा डुलाउँछु । मनलाई अलिकति थामथुम पार्ने कोसिस गर्छु । कसैले नक्कलै गरेको रहेछ भन्यो भने पनि आफूले जानी जानी त गरेको होइन नि ! अन्जानमा भयो होला, अरुले पनि त्यसो नगर्ने हुन् र ? आफूमात्रै दोषको भागी त पक्कै हुँइदैन होला पनि भन्छु ।

अरुको बिस्कुन पनि हेरौं न त भन्दै उठेर यसो अन्यत्र पनि आँखा सोझ्याउँछु । केही बेरलाई चित्त बुझाउँछु । फेरि पनि खुल्दुली लाग्न छोड्दैन । अरुकै जस्तो त हुनु भएन नि आफ्नो बिस्कुन ! एउटै ड्याङको मुलाजस्तो भयो भने त्यसले के सन्तुष्टि देला र ! कसरी फरक देखाउने त, कि भित्रभित्रै माक्किएकै अक्षरहरू भए पनि बाहिर बाहिर रंग रोगन दलेर परबाट हेर्दा चिरिच्याट्ट परेको, आकर्षक पार्नुपर्यो । भोजभतेर गरेर केही छिनलाई राम्रो ! राम्रो !! भनाएर पनि सँधैलाई थेग्ने कुरा भएन । एकैछिनलाई त त्यसो गरेर भए पनि बोक्रे इज्जत राख्नु हुन्थ्यो, तर अर्को दिन त फेरि सक्कली कि नक्कली छुट्टइिजान्छ । यसो गर्नु पनि त्यति भरलाग्दो लागेन ।

यसो उसो कसै गर्दा पनि उपर्युक्त समाधान अझै निस्किएको छैन । मन गह्रौँ भएको छ । हात चिसाजस्तै भएका छन् । के गरौँ, के नगरौँ भएको छ । मन भारी भएर उठ्नै गाह्रो भएको बेला हातले समाएको कलम त भुइँमा पो खसिसकेछ । उठाउन खोज्छु, जाँगरै चल्दैन । बलतल गरेर भुइँबाट कलम टिपेर फेरि केही कोर्न खोज्छु, अगाडिको बिस्कुन झन्झन् खिइँदै गएझैँ देखेर कोर्न मन लाग्दैन । आफ्नै अक्षरको बिस्कुनले यसबेला आफैंलाई भन्दैछ- 'होशियार ! जे पायो त्यही ल्याएर यहाँ नमिसा ।' बिस्कुनरूपी अक्षरहरू भन्दैछन्, अरु मरञ्च्याँसे अक्षरहरू थपेर बिस्कुन नलगा, सक्छस् भने खँदिला अक्षर लेख, नत्र तेरो कलम मिल्काइदे ।


* जीवनाथ धमला
* मधुपर्क
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger