Pages

Home » » नेपाली कबिता : प्रियतमा

नेपाली कबिता : प्रियतमा

शोकैमा भयमा कडा समयमा साथी सधैँ नै भयौ l
रातैमा दिनमा रहेर संगमा आनन्द हाँसो दियौ l
गर्दै आदर प्रेमले हरघडी आशा दियौ भै धरा l
हौ मेरी मनमा निवास गरने देवी तिमी अप्सरा ll १ ll

भोको आँत हुँदा नि काम घरको पूरा गर्यौ स्नेहले l
रोक्यौ आँसु सदैव भित्र तनमा सेवा दियौ प्रेमले l
धायौ मन्दिर मन्दिरै खसमको माग्यौ वरै आयुको l
पर्वाहै नगरी कठोर असरै ठण्डी चिसो वायुको ll २ ll

पीडामा पनि लौ बुझाइ मन यो शान्तै बनायौ व्यथा l
सम्झायौ अति ज्ञानका वचनले भन्दै पुराना कथा l
रोषै छैन मुहारमा रतिभरै आभा छ चन्द्रै सरि l
चम्क्यौ आँगनमा सुवास छरंदै अत्यन्त मायाँ गरी ll ३ ll

(शार्दूलविक्रीडित छन्द)
कोमल भट्ट

न्युयोर्क
Share this article :

No comments:

Post a Comment

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger