Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (26) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , , » भैरब अर्यालको - भान्सा भो हजुर?

भैरब अर्यालको - भान्सा भो हजुर?

"भान्सा भो हजुर ?”

आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहूको आवाज गुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीझैँ हत्त न पत्त घैँटो
लुकाउँदै जीउ टकटक्याउँछे, सपनाहरू पुलिसको आवाज सुनेका जुवाडेहरूझैँ कोही खाटमुनि लुक्छन्; कोही झ्यालबाट हामफाल्छन् । पिलिक्क आँखा उघार्दा मिलिक्क उही बूढो साहू महिना सुनाउन आएका बाजेझैँ बिपना सुनाउन भित्र पस्छ ।

झोकको झन्झावातमा मगज यस्तरी झन्झनाउँछ कि जुरुक्क उठेर साहूजीका चाउरिएका गालामा चडयामचडयाम हिर्काउँदै जबाफ दिऊँ- ‘कौवाले समेत जलपान नगर्दै तेरा बाबुले भान्सा गर्छ लट्‌ठू !’ तर बोल्न नपाउँदै केटाकेटीनै उसलाई उल्याउन थाल्छन् । म आफ्नो झोक तकियामै बिसाएर सिरकले गुम्लुङ्ग मुख छोपी आफू नब्यूँझेको बहाना गर्छु । किनभने एकैछिनको ध्यानदृष्टिले मलाई यो तथ्य पत्ता लगाउन गाह्रो पर्दैन- साहू अहिले भान्सा भएको-नभएको सोध्न आएको किमार्थ होइन, ऊ त अघिल्लै महिना भान्सा गरेको एक मुरी चामलको उधारो उठाउने उद्देश्यले मलाई ओछयानैमा उठाउन आइपुगेको हो । त्यसैले देशको एउटै प्रश्नबाट नेताहरूले बेग्लाबेग्लै अर्थ झिकेझैँ साहूजीले एकाबिहानै सोध्न आएको ‘भान्सा गर्नुभो’ भित्र धेरैधेरै अर्थ लुकेको मैले पाएँ । पहिलो त हो- उसले कति दिन मेरा भान्सा चलाइदिएको थियो । ऊजस्तो अन्नदाता साहूकहाँ मुखै नदेखाई अचेल म कसरी भान्सा गर्छु ? न हिजोअस्ति मेरो परिवारले भान्सै गरेको छैन कि ? म एउटा जागिरजीवी अधिकृत, पसलेको उधारै नखाई महिनाभर भान्सा गर्न-गराउन सक्छु र ? उसको सोधाइको अँझ सबभन्दा चुरो अर्थ के होला भने आफूले उधारो भान्सा गरेबापत उसलाई तिर्नुपर्ने रुपियाँ यतिन्जेल नतिरेकोले त्यसको पनि मैले भान्सा गरिदिएँ कि ? उधारो खाने पनि कुनै निश्चित समय र स्थान हुन्छ र ? उधारो, रीन, घूस, कमिसन, नाफा, नजराना भन्ने कुरा कौवाको बच्चाले जलपान नगर्दै खाए पनि हुन्छ रे, लाटाकोसेराका बच्चाले न्यासध्यान नगर्दै सिद्‌ध्याए पनि हुन्छ रे । यसरीरहस्य उघार्दै जाँदा उसले एकाबिहानै भान्साको प्रश्न उठाएबापत उठेको झोक नशाले छाडेपछिको आत्मज्ञानझैँ आत्मग्लानिमा परिणत हुन्छ । म सिरकभित्र दुम्सीले झैँ जीउ खुम्च्याएर दम्पच पारी आफूलाई लुकाउन खोज्छु, तर हिजो बेलुका गरेको काँचोकचिलो भान्साले भुँडीभित्रैबाट ध्वालालल्ल गरी शौचालयको निम्ता दिन्छ ।

भान्साको कुरा गर्दागर्दै शौचालयको कुरा झिक्ता तपाईंलाई अलि बीभत्सताको गन्ध आउला, वास्तवमा यी दुईको सम्बन्ध टिप्पणी र आदेशको सम्बन्धजस्तै घनिष्ठ छ । भान्सा एउटा टिप्पणी हो भने शौच एउटा आदेश हो । दार्शनिक भाषामा भान्सा भोगभूमि हो भने शौचालय त्यागतीर्थ हो । साँच्चै भनूँ भने आजको जटिल त व्यस्त जीवनमा शौचालयजस्तो आनन्दी ठाउँ अर्को कुनै छैन, कारण यहाँ उधारो उठाउन आएको साहूले मात्र होइन, उधारो खान बाध्य गराउने केटाकेटीकी माउले पनि झिँजोल्न पाउन्न । कमसेकम एकान्त साधना र आत्मचिन्तनको एउटा शान्त आश्रम शौचालय नै हो । त्यसैले म आश्रमभित्र पसी आत्मलीन हुँदै चिन्तन गर्न थाल्छु- मानौँ मलाई भान्सा गर्नुको अर्थबोध हुन लाग्छ ।

भान्सा गर्नु भनेको खानु हो । खानु भनेको कुनै पदार्थलाई मुखद्‍वारबाट प्रवेश गराई आन्द्रेमार्गद्वारा भुँडीभण्डारसम्म पुर्‍याउनु हो । तर खानुसित बढी मोह भएर हो कि खानुको समस्याले बढी सताएर हो नेपालीहरूले यसको अर्थविस्तार यस्तरी गरेका छन् कि तन्काउनु र सुर्क्याउनुलाई पनि खानु नै भनिदिन्छन् । उदाहरणको लागि हामी चुरोट पनि खान्छौँ । चिया पनि खान्छौँ । पाए रम पनि खान्छौँ, नपाए गम पनि खान्छौँ । तर अरु खानुसित त्यति चासो हुँदैन, हाम्रो खास खानु भात खानु हो । त्यसैले साँझबिहान टुप्लुक्क कोही आइपुग्यो भने ढोगभेटपछिको दोस्रो प्रश्न हुन्छ- ‘भात खानुभो ?’

भात खानु भनेको ज्यूनार गर्नु, भोजन गर्नु, भान्सा गर्नु, हसुर्नु, घिच्नु र धोकय्राउनु पनि हो । धनधान मानसानले ज्वाज्वल्यमान मानिसहरू ज्यूनार गर्छन्, हलो जोतेर खानुपर्ने परिश्रमीहरू सायद हसुर्छन्, धोक्रो बोकेर ज्याला कमाउनेहरू सायद धोक्य्राउँछन् र साह्रै हिन्नेती ठहरिएका वा रिस उठेका मान्छेहरू घिच्छन् । कमसेकम आफूलाई सन्तोष के छ भने हिजो बेलुका पानेरोटी धोक्य्राएको भए पनि, सुक्खा रोटी टोकेको भए पनि रिसाएको साहूले कमसेकम यसरी त सोधिदिएन- ‘घिच्यो बाज्या ? धोक्य्रो साहेब ? हसुर्नुभो हजुर ?’

अर्थ उही भए पनि ज्यूनार गर्नु, भान्सा गर्नु, भात खानु र घिच्नुको ध्वनिमा ठूलो अन्तर छ । ज्यूनार भन्नेबित्तिकै चौरासी व्यञ्जनका दर्जनौँ-दर्जन रिकापीहरू वरिपरि सजाएर बडेमानको थालमा घिउ चुहिने दुई पन्यूँ मसिनाको मसलादार भुजा पस्किएर चम्चाले एकपछि अर्को रिकापी चहारेको दृश्य ध्वनित हुन्छ । भान्सा गर्नुभन्दा कमसेकम दालभात तरकारीको साथै ट्वाक्क एक थोक अचार, चार चौटा मासु या एक गिलास दुध र एक-दुईओटा फलफूलको बास्ना आउँछ । भोजन गर्नुभन्दा निम्तालु बाहुन वा जोगी वा ज्वाइँ, भानिजले निमन्त्रकको घरमा कुनै धार्मिक चाडपर्वमा दक्षोणासमेत लिई खीर, मालपुवा वा इक टपरी दहीभात बजाएको बुझिन्छ । भात खानु मात्रभन्दा सिलाबरको वा पित्ले थालमा पस्केर रातोरतो चपरी भात केही न केही एक थोक तरल तिहुनसित मुछेर गाँस हाल्नु भन्ने बुझिन्छ । अधिकांश भद्रभलादमीकहाँ भात खाँदा फलफूलको त कुरै छाडौँ दालतरकारीको पनि नियमित प्रबन्ध हुँदैन, केवल भात खाए पुग्छ । यसैले प्राय: दालतरकारी खाएनखाएतिर वास्तै नराखी हामी सोध्ने गर्छौँ- ‘भात खायौ ?’ त्यही भात पनि उसिनाको पर्‍यो वा चामलको कायममुकायम मकै, कोदो, फापर या चनाले गराउनुपर्‍यो र जिभ्रामा अड्काईअड्काई निल्नुपर्‍यो भने त्यसलाई घिचेको भन्नमा कुनै आपत्ति छैन । कति जनालाई रिस उठाएर वा कतिदेखि रिसाएर गर्नुपर्ने हामीजस्ताको पेट भर्ने क्रियालाई ‘भान्सा गर्नुभो ?’ भनी सोध्नुसट्टा ‘घिच्नुभो ?’ भनी सोधे स्वाभाविकै ठहरिएला कि भन्ने मलाई लाग्छ ।

त, शौचालयमा यति ज्ञान हासिल गरी जब म बाहिर निस्कन्छु, साहूजी गनगनाइरहेको सुनिन्छ- “हजुरहरूले यस्तो गरिदिएपछि हामीले के खाने ए ?”

भनिदिऊँ जस्तो लाग्छ- ‘तिमीले नाफा खाने हामीले उधारो खाने’, तर त्यसो नभनी म उसलाई आश्वासन दिन्छु- “तिम्रो पैसा हामी खाँदैनौँ साहूजी ! अहिले केही दिन कम्पनीको हालत खराब भएकोले तलब आएको छैन, आउनेबित्तिकै पुर्‍याउन पठाउँला !”

मेरो भद्र आश्वासनले साहूजी त आश्वस्त भएर जान्छ । तर भान्सा विभागकी अध्यक्षा श्रीमती देवीको लम्बे टिप्पणी आदेशार्थ प्रस्तुत हुन्छ- चामल, चिनी, चना, चम्सुर, रातो माटो, मट्टीतेल, हिङ, हलेदो, हिसाबको कापी, साबुन, साबदाना, स्टोभको वासर र सल्फागुनाइडिन । अफिसको मागफारम हुँदो हो त म त्यसलाई यस्तरी फाइलमा कोचिदिन्थेँ कि एक महिनापछि खोज्दा, खोज्नै फेरि एक महिना लागोस् ! तर माग पर्‍यो बूढीकै; सार्दाम पर्‍यो भुँडीकै । जहानको समस्या पनि जनताको समस्याजस्तो टारेर टर्ने हो र ? न आश्वासनले टर्छ, न भाषणले, न योजना बनाएर टङ्गारिन्छ, न अभियान चलाएर । मैले त तुरुन्तै आदेश मात्रै दिएर पुग्दैन, निकासा नै दिनुपर्छ नत्र एकछिनपछि ‘भात पाक्यो ?’ भनी सोध्ने अधिकार पनि मेरो हुने छैन; मलाई ‘भान्सा गर्नुभो’ भनी सोध्ने कर्तव्य पनि कसैको बाँकिरहने छैन । त्यसैले गिजाबाट टुथपेस्टको गाँज निकाल्दै म सम्झन थाल्छु- यस महिनामा उधारो नलिएको परिचित पसले कुनै बाँकी छ कि ? या सापट नलिएको कुनै साथी वा सज्जन बाँकी छन् कि ? तर तुरुन्तै सम्झनामा कोही पनि चढ्दैन । बरु यसपालि बत्ती धेरै चढेछ- छोरो भन्छ । पानी धेरै चढेछ- छोरी भन्छे । म पनि निकै चढेको छु भनी टेलिफोनले घण्टी ठोक्छ- टिन्न ।

आधुनिक जीवनमा घण्टीको पनि घनिष्ठता छ भन्ने कुरा मान्नै पर्‍यो । प्रसूतिगृहमा आमाको गर्भबाट जब म खुत्रुक्क ओर्लेथेँ, नर्स दिदीले टिङ्‌रिङ्ग घण्टी बजाई मेरो धरावतरणको सलामी दिइथिन् रे ! त्यसैले स्कुल-कलेजदेखि घर-अफिससम्म नाना थरीको घण्टीले मलाई छाडेको छैन । बेला न कुबेलाको यो घण्टीदेखि यति झोक चल्छ कि उठाउँदै नउठाइदिऊँ ? तर कुनै भाग्यविधाताको घण्टिरहेछ भने के गर्ने ? त्यसैले उठाउँछु- भान्जीमैयाँको मधुर स्वर गुञ्जिन्छ- “उहाँ हजुरको मामालाई नभेटी नहुने छ रे । दिउँसो भेट हुँदैन भनेर हामी अहिले तीँ’ खाने गरी आउँदै छौँ, माइजूलाई भनिदिनुहोला- उहाँ हजुर तेलमा बनाको कुरा ज्यूनार हुन्न !”

आफैँलाई सुन्न धौधौ परेको सन्देश माइजूचाहिँलाई कसरी सुनाइदिने ? त्यसैले म रिसिभरको साथै कुरो बटारेर उतैतिर फर्काइदिन्छु- “होइन नानी, त्यस्तो जरुरी भए उहाँ हजुरलाई किन दु:ख ! मेरो अहिले त्यतैपट्टि आउने काम छ, माइजू पनि भेट्नु छ भन्थी, भान्सा त्यहीँ ठिक गर्नू । तिम्रो मामालाई तेलमा बनाएको मात्रै होइन, मट्टीतेलमा बनाएको पनि मिठो लाग्छ भनी बज्यैलाई सुनाइदिनू ।”

भान्जीमैयाँ खिलखिलाउँदै टेलिफोन राख्छिन् । एक जोर पाहुना हटाउनुको साथै भान्जीकहाँ एक छाक भान्सा चुलेनिम्तो माग्ने नकच्चर्र्‍याइँमा आफू सफल भएकोमा मलाई टिएडिएसहितको विदेशभ्रमणको निम्तो माग्न सफल भएजस्तै खुसी लाग्यो ।

यही खुसीमा आरामकुर्सीमा बसी म मग्नसँग कोसेली फुक्न थालेँ । एकाएक एक जना बाजे चोकमा ठिङ्ग उभिएर ङ्याउरे स्वरमा पाती पढ्न थाले- ‘आब्रह्मन् ब्राह्मणो-ब्रह्मवर्च....’ त्यसको मूल अर्थ न उनले बुझेका होलान्, न मैले बुझेको छु, तर भावर्थ भने भात खानु हो । यो हाम्रा केटाकेटी र आइमाई सबैले बुझेका छन् । त्यसैले उनीहरूले चुपचाप लागि एक मुठी भात बनाउने गेडा झोलीमा थपिदिइहाले । बाजे हिँड्न नपाउँदै अर्को अवतार चोकमा अवतरित भयो, त्यो अवतार थियो- दही दाजुको । दुई हातमा बडेबडे घैँटा झुन्डयाएको, बीचमा घ्याम्पिएको गाँठाले सकिनसकी हिँड्नुपर्ने दहिंदाजु टोलभरिको परिचित विदूषकजस्तो थियो । झ्यालमुनि घैँटा बिसाउँदै मलाई नमस्कार गरेर उसले सविनय निवेदन गर्‍यो– “तीन बिस ११ वर्ष खाइहालियो, अब दुई-चार वर्ष खानलाई पर्नु हम्मे पर्‍यो हजुर !”

सुनेको नसुन्यै गरी उसको खानुको समस्या र आफ्नो खानुको समस्या जोर्न थाल्छु, केटाकेटीहरू उसलाई ‘ठग बूढो, हन्डे बूढो, घ्याम्पे बुढो’ भन्दै गिज्याउँछन् । ‘दहीमा च्याउ मिलाएर लयाउँछ’ भन्छन् । तर ऊ यस्ता टीकाटिप्पणीको कुनै वास्ता गर्दैन; न गिज्याइको वास्ता गर्छ, न खिज्याइको । खानको लागि यस्ता उपेक्षा र अपमानहरू पहिल्यै पचाउनुपर्छ भन्ने उसको जीवनदर्शन ७० वर्षदेखिको अनुभवमा खारिएको दर्शन हो । सामान्य रुपमा ‘दही चाहिँदैन बूढाबा’ भन्यो भने एकपल्ट राम्रै भाषण गर्छ- “आज एकादशी, भोलि आइतबार, यो दही अघिपछिको जस्तो होइन, खावा दूधको दही, खावा दूधको ।” धेरैजसो ऊ जित्छ हामी हार्छौँ र दही किन्छौँ । थोरैजसो ऊ हार्छ- रन्कन्छ, फन्कन्छ फेरि अर्को दिन टुपलुक्क आइपुग्छ ।

दहिंदाजुको प्रस्थानपछि दूधमैयाँ आइपुग्छे- एउटा फूलो परेको आँखो मतिर चढाएर निकै लजाएझैँ भित्र पस्छे र पहिल्यै आफ्नो महत्व गाउँछे- “आमालाई जाऊँ न भनेको, तँ गए मालिकहरू खुसाउँछन्, धेरै दूध किन्छन् भन्छिन् । हुन पनि क्या बज्यै, उ: त्यो टोलमा बस्ने देशीसाहेब छ नि, आमाले लगेको बेला आधा माना दूध लिन्छ, म गएको बेला दुई माना लिन्छ र दूध ल्याएको ज्याला भनेर एक सुका पैसा बढ्ता पनि दिन्छ ।”

दूधवाल्नी बूढीको भान्सा गर्ने बेलामा तरुनी छोरीको कति मद्दत रहेछ भन्ने बुझ्न मलाई गाह्रो पर्दैन । तर चुरोट बेस्कन तान्नेसिवाय अरु केही बोल्दिनँ । दूधमैयाँ झ्यालमुनिबाट फेरि एक नजर मास्तिर चढाई लचकदार पैतला चाल्छे- म हेरिरहन्छु, हेरिरहन्छु । हेर्दाहेर्दै धूवाँको प्रवाहसित सम्झना-प्रवाह पाँज्जिन्छ- एउटा सेतो मुसो खोरमा पालेर ज्योतिष हेर्न टुँडिखेलको छेउमा बसेको पिलन्धरे युवक, बियरका थोत्रा टिन दुई-चारोटा बटुली सुकेनासले खाएको छोरालाई झुम्रे स्तन चुसाउँदै बेच्न बसेकी पसल्नी, बागेश्वरीको जलप्रसाद बाँड्न दिनहुँ अफिसअफिसमा चहार्ने बहिरा बागेश्वर पण्डित, दिनभरि होटेलको कप पखालेर साँझ चिउरा, तरकारी चोरी स्वास्नी-छोराछोरीलाई चारा लैजाने होटेलब्वाय, छेपारा बटुलेर उसिनी हरेक रोगको औषधी भन्दै दिनभर चिच्याउँदै हिड्ने मुसहर सबै उही भान्सा भगवतीका उपासक हुन् । यस्ता प्रत्येक उपासकलाई दिनहुँ भेटेर कसले सोधिदिने- “भान्सा भो हजुर ?”

बरु नेपथ्यबाट आफैँ फेरि सोधिन्छु- “भान्सा भो बाबू ?”

मुन्टो बटार्दा जुम्लुङ्ग उनै ठाहिँला बाजेका छोरा उपस्थित देखिन्छन् । म नमस्कार र प्रश्न दुवै फर्काउँदै सोध्छु- “तपाईंको भान्सा भयो नि ?”

पढेगुनेका नभए पनि ५२ हन्डर ५३ ठक्कर खाएका ठाहिँला बाजेका छोरा भन्छन्- “भान्सा गर्न सकेको भए म बिहानबिहान बाबूलाई झिँजोलेर कतै बहिदार खाली भो कि भनी किन धाइरहन्थेँ बाबू !”
अनि उनी भान्सा गर्नुको लामो कथा हाल्दै आँखाभरि आँसु पारेर भन्छन्- “हाम्रो मूल व्यथा नै भान्सा गर्नुको व्यथा हो बाबू ! त्यसैले जो पायो उहीसँग भान्सा गरेको-नगरेको नसोध्नु नै राम्रो बाबू, नसोध्नु नै राम्रो !” त्यहाँदेखि मलाई पनि त्यस्तै लाग्छ- नसोध्नु नै राम्रो !

                                                                                                                      - भैरब अर्याल 
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger