Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (26) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » , » नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू

नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू


Hom Suvedi — Tue, 01/28/2014 - 18:01


नेपाली भाषाको लेखनलाई व्याकरणनिष्ठ बनाउँदै शुद्धाशुद्धीको ख्याल गरेर लेख्ने परम्पराको थालनी भएको पनि सय वर्ष नाघिसकेको कुरा जगजाहेर छ । सुब्बा वीरेन्द्र्र केशरी अर्यालले नेपाली भाषाको बेसरी नामक व्याकरण १९६३ सालमा लेखेका थिए । पछि प्रकाशित भएको भए पनि यसमा नेपाली भाषालाई निष्ठापूर्वक लेखिनु पर्ने कुराको जोड थियो । नेपाली भाषाको व्यारणको ऐतिहासिक थालनी यसैलाई बिन्दुलाई मान्ने गरिएको छ । यसै अवधिमा (१९६५) राममणि आचार्य दीक्षितले हलन्त बहिष्कार आन्दोलन नै चलाएका छन् । त्यो पनि लेखनका लागि गतिलो प्रयास थियो । तर खुट्टा काट्नै नहुने सोच भएको राममणि आदिको लेखनमा आग्रह बढी थियो गतिलो र वैज्ञानिक तर्क थिएन । यसैले त्यसको आयु लामो हुन पाएन । यद्यपि खुट्टा काटेर नेपाली भाषाको तत्कालीन लेखनको विशेष गरी पद्यको रूप निकै नै विरूप हुने गरेको कुरामा वास्तविकता थियो तर यसको मध्यमबिन्दुको बाटो र पाटो विद्वच्छिरोमणि हेमराज गुरुको गोरखा भाषा व्याकरणबोध चन्द्रिका (१९६९)ले लिएको कुरा सर्वस्वीकार्य हुन पुगेको थियो । यसैलाई गोरखा भाषा प्रकाशिनी समितिले समेत ग्रहण गरेर आधिकारिकता दिएको थियो । लेखनाथ पौडेल, चक्रपाणि चालिसे लगायतका लेखकहरूले यही व्याकरणको निर्देशनलाई ग्रहण गरेर आफ्नो लेखनलाई अघि बढाएको बुझिन्छ । गुरुको प्रयास राज्यकै तर्फबाट स्वीकारिएको थियो । यसैको सारसंक्षेप र संस्कृत व्याकरणको नियमको नजिकबाट सोमनाथ सिग्देलले मध्यचन्द्रिका (१९७४) लेखेका थिए । पण्डितराजद्वारा तयार पारिएको यो कृति पछिसम्म नै आधिकारिक रूपमा रहेको थियो । नेपाली भाषाको लेखन अँझै परिनिष्ठ र परिष्कृत रूपमा हुनुपर्ने कुराको बोध गरेर तथा त्यसका लागि दिशानिर्देशन दिने हेतुले सर्वसुलभ हुने गरी लगभग वर्णनात्मक रूपमा बालकृष्ण सम, पुष्करसमसेर तथा अन्य विद्वान्हरूको सहयोगमा चारपैसे व्याकरण भनेर तत्काललाई चिनिएको नेपाली कसरी शुद्ध लेख्ने ? (१९९१) प्रकाशित भएको थियो । यसको चलन ता २०३० सालसम्म नै रहेको बुझिन्छ । त्यसपछि पनि नेपाली भाषाको व्याकरणको लेखनमा निकै विद्वान्हरूले कलम चलाएका छन् । पुष्करसमसेर, गोपाल पाण्डे असीम, ऋषभदेव शास्त्री, विष्णुगोपाल तथा शिवगोपाल रिसाल, कृष्णप्रसाद पराजुली लगायत धेरै विद्वान्हरूले नेपाली भाषाको लेखनलाई लिएर गम्भीर अध्ययन गरेका छन् । तारानाथ शर्मा, बल्लभमणि दाहाल, कोषराज रेग्मी, बालकृष्ण पोखरेल, चूडामणि रेग्मी लयातका केही तत्कालीन बनासर पढ्न बसेका युवाहरूले २०१३ सालदेखि नेपाली भाषामा अङ्ग्रेजी र संस्कृतको बढी घच्चा भयो भन्ने बुझेर झर्रोवादी आन्दोल चलाएका थिए जसको नेपाली भाषाको लेखनमा र शब्दचयनमा आफ्नो मौलिक अनुहार गुमाउनुहुन्न भन्ने आग्रह थियो । यो एक संस्थागत प्रयत्न थियो । यसरी संस्थागत तथा व्यक्तिगत रूपमा भए पनि नेपाली लेखनलाई वा व्याकरणलाई अद्यावधिक गर्ने जमर्को यिनै केही विद्वान्हरूले गरेकोसम्म देखिन्छ । तर त्यस क्रममा निजहरूका आग्रहहरू पनि नदेखिएका होइनन् । २०१६ सालमा रामराज पन्तले सजिलो लेखन अभियान थालेका थिए, जसलाई पत्रपत्रिकाहरूले समेत पालन गरेको देखिन्छ । यही परम्पराको अहिलेसम्मको व्यक्तिगत प्रयासको पछिल्लो रूप हो– मुकुन्दशरण उपाध्यायको सरल र शुद्ध लेखन अभियान (२०४९) । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान तथा त्रिभुवन विश्वविद्यालयको स्थापनापछि मात्र नेपाली भाषाको लेखनमा देखिएका विविधतालाई एकरूपता तथा स्तरीयताका लागि संस्थागत प्रयत्न हुन थालेको देखिन्छ । यसै कार्यलाई अँझ महत्व दिदैं पाठ्यपुस्तक तथा पत्रपत्रिकाहरूको भाषिक अनेकतालाई एकताको सूत्रमा बाँध्नै पर्ने उद्देश्यले २०१० को दशकदेखि आन्तरिक स्वदेश तथा बाह्य वा विदेशबाट पनि गम्भीर प्रयत्न हुन थालेका देखिएका छन् । नेपाली भाषामा शब्दकोषको अभाव पूरा हुने क्रम बालचन्द्र शर्माको प्रयासबाट यही दशकमा पूरा भएको देखिन्छ । उदाहरणहरू धेरै छन् । तिनबाट के देखिन्छ भने नेपाली भाषाको लेखनमा एकताका लागि व्यक्तिगत तथा संस्थागत अनेकौं प्रयासहरू भएका छन् जसको परिणाम आजको नेपाली भाषाले लेखनको रूप लिएको छ । व्यक्तिगत प्रयत्नकर्ताहरूको नामावली लामो छ, विदेशीहरूबाट पनि नेपाली भाषाको शब्दकोष तयार गर्न र व्यारकण लेखनमा भएको ऐतिहासिक महत्व र मूल्यलाई कदापि बिर्सन सकिन्न । यिनै सबैको प्रयासलाई मात्र स्मरण गर्दै लेखिएको यस लेखमा सबैको प्रयासलाई समावेश गर्न कठिन छ ।

व्याकरणका बारेमा पनि विद्वान्हरूका विभिन्न धारणाहरू छन् । भाषा जे जसरी बोलिन्छ त्यही अनुरूप खेलिनु पर्छ भन्नेहरूको मत पनि निकै उच्च रूपमा छ । मानक रूपको भाषा एक हुन्छ स्थानीय कथ्य भाषाका स्वरूपहरू स्थानैपिच्छे बेग्लाबेग्लै हुन्छन्, लेख्य भाषा र कथ्य भाषा एक हुन सक्तैनन् भन्ने मतहरू पनि छन् । कथ्य भाषामा निरन्तर परिवर्तन भइरहन्छ, लेख्य भाषामा त्यसरी निरन्तर परिवर्तन गर्न उचित हुँदैन भन्ने मतहरू पनि छन् । भाषाको परिवर्तन मान्छेमा सोर वर्षको हुँदाहुँदै जुँगादारीको रेखी बसेको जस्तो देखिने हुन्न । यो नजानिदो गरी समयक्रममा बोध गर्दै र हलुका रूपमा देखिंदै जान्छ । तुलनात्मक अध्ययनबाट यो कुरा सिद्ध हुन्छ । व्याकरण भनेको भाषालाई अधिकार पूर्ण रूपमा बाँध्ने त्यसै भाषाभित्र रहेको वा भाषिक अन्तर्भूत नियम हो । यसमा कसैको मतभेद छैन । भाषा परिवर्तन हुनु नै त्यसको व्याकरण पनि परिवर्तन हुनु हो । नेपाली भाषामा पनि पचास सय वर्षको अन्तरमा पर्याप्त परिवर्तनका लक्षणहरू देखिएका छन् । यही परिवर्तनलाई अद्यावधिक गर्नुपर्छ भन्ने आग्रह देखिएका छन् । आग्रहहरू स्थानीयतावादी र राष्ट्रियतावादी दुई खालका छन् । स्थानीयतावादी सोच भएका व्यक्तिहरूमा शिवराज आचार्यको नाम प्रमुख रूपमा आउँछ । उनले जिम्दो नेपाली भासा (भाग एक, दुई २०३१) भन्ने कृतिबाट नेपाली भाषालाई स्थानीयताको रूपमा ओराल्नु पर्ने आग्रह गरेको देखिन्छ । यसका साथै महानन्द सापकोटा, सूर्यविक्रम ज्ञवाली, मुकुन्दशरण उपाध्याय, रोहिणीप्रसाद भट्टराई आदिलाई पनि यस क्रममा बिर्सन मिल्दैन । बालमुकुन्ददेव पाण्डे पनि यसै मार्गलाई परपरबाट अनुसरण गर्ने एक पत्रकार थिए । सङ्कल्प, वेदना र अरु केही पत्रपत्रिकाहरूले पनि यस हलचलको अनुसरण गरेका थिए ।

हाल आएर माथि उल्लेख गरिएका यिनै र यी जस्तै अरु केही आग्रह गर्ने विद्वान्हरूले नेपाली भाषाको लेखनमा यदाकदा उथलपुथल ल्याउने गरेका छन् । लगभग स्थापित हुन पुगेका मान्यताहरूलाई उलटपलट पार्ने काम तिनले गर्दै आएका छन् । त्यो काम गलत नै गरेका हुन् भन्न नसकिए पनि खाटो बस्न लागेको र ओभाउन ओभाउन लागेको घाउलाई तिनले कोट्याएर रगत छरछरी निकाल्ने काम गरेका छन् भन्न सकिन्छ । नेपाली भाषाको लेखनमा समस्यै नभई यिनले यसो गरे भन्ने कुरा अवश्य नै होइन समस्याहरू जुनसुकै भाषाको लेखनमा पनि हुन्छन् । समस्या नै नभईकन कुनै उलटपलट हुने पनि होइन । हाम्रो भाषाको लेखनमा केही समस्याहरू अवश्य पनि छन् । तिनै लेखनका समस्याहरूलाई लिएर साधारण मतभेदहरू देखिने गरेका छन् । चर्काचर्की पनि परेको देखिन्छ । त्यसलाई लेखनमा देखिएको किचोलो भन्न पनि सकिन्छ ।

नेपाली भाषाको लेखनको समस्या भनेको केही स्थानमा छ । यो भाषाले देवनागरी लिपिलाई स्वीकार गर्ने भएकोले त्यही लिपिमा जे छ यहाँ पनि त्यसलाई नै यथावत् चलाउनुपर्छ भन्ने सोच एक छ । लिपि त्यही भए पनि नेपाली भाषाको उच्चारण अनुसार त्यसलाई चलाउनु पर्छ भन्ने सोच अर्को छ । नेपाली बोलीवचनमा ह्रस्व र दीर्घले अर्थ भेद गर्न सक्तैनन् । यसमा स, श, षहरू पनि फरक अर्थ गर्न सक्ने हैसियत गुमाइसकेका छन् । उच्चारणकै कुरा गर्ने हो भने ऋ र रि एकै हुन् । यँ र ञ पनि एकै हुन् । छ््य र क्ष पनि एकै सुनिन्छन् । ग्यँ र ज्ञ एकै हुन् तर एकै सुनिएकै भरमा यिनका दुई रूपहरूमध्ये एकलाई मात्र राखेर अर्कोलाई हटाइहाल्न पनि हामी सक्तैनौं । किनभने ञ, ऋ, क्ष, ज्ञ, श, ष र कतिपय स्थानमा दीर्घ लेख्नै पर्ने शब्दहरू हाम्रो भाषामा अहिले पनि छँदैछन् । हाम्रो भाषा भनेको लगभग २० देखि ३० प्रतिशत संस्कृत भाषाका शब्दहरू अहिले पनि चलाइआएको भाषा हो । यसैले ती संस्कृतका शब्दहरूलाई जिउँका तिउँ लेख्नै पर्ने स्थिति अहिले पनि हामीलाई बाध्यात्मक रूपमा रहेकै छ । भोलिका दिनमा परिस्थिति फरक नभइन्जेलसम्मलाई हामी अहिले मानिआएको परम्परालाई लत्याउन सक्ने अवस्थामा देखिदैनौं । हो केही प्रस्तावहरू यसका लागि नआएका होइनन् । आजको लेखन लगभग तुलनात्मक रूपमा स्थिर छ । यस स्थिरताको कारण प्रज्ञाप्रतिष्ठान र त्रिभुवन विश्वविद्यायको विशेष योगदान छ । २०३० सालपछिका गरिएका नेपाली भाषाका प्राध्यापकहरूको गोष्ठीमा उठेका र पारित भएका कुराहरू लेखनलाई सहजीकरणको दिशातर्फ उन्मुख बनाउने प्रयत्न थिए । त्यसैको फलस्वरूप आजको लेखन यस अवस्थामा छ ।

भाषाको लेखमा देखिएको विविधताले साधारण पाठक र विद्यार्थीहरू अलमलमा पर्दछन् । जस्तो लेखे पनि हुने परिपाटीको विकास भएर जान्छ अनि लेखनमा अराजकता पैदा हुन्छ । यसो हुनु भनेको असभ्यता र अज्ञानता हो । तर लेखनमा देखिने असजिलाहरूलाई नै सधैं भरि यथावत् राखिंदै लगिनु पनि हुन्न । सम्भव भएका कुराहरूलाई परिवर्तन गरेर पचाउन पनि सक्नु पर्छ । नेपाली भाषाको लेखनमा यसै दिशातिर उन्मुख भई केही संस्थागत प्रयास पनि भएका छन् । व्यक्तिगत रूपमा मुकुन्दशरण उपाध्याय, चूडामणि रेग्मी, रोहिणीप्रसाद भट्टराई, शिवराज आचार्य, बालमुकुन्ददेव पाण्डेहरूले यस दिशामा निकै प्रयत्न गरेका छन् । चन्द्रगढी घोषणापत्र (२०६७), ललितपुर घोषणापत्र (२०६८)हरू यसैको संस्थागत स्वरूपहरू हुन् । अरु सबै कुरा ठिकै भएर पनि चन्द्रगढी घोषणापत्रमा उल्लेख भएका केही कुरा सारै अप्ठेरो पार्ने खालका देखिएका छन् । यद्यपि त्यस घोषणापत्रका समितिको सदस्य म स्वयं पनि थिएँ तापनि अहिले म त्यसबारे आफैं पछुताउ गरिरहेको छु । त्यसको कतिपय घोषणाहरू सारै व्यावहारिक भएर पनि कतिपय भने व्यावहारिक रूपमा बडो अप्ठेरो प्रकृतिका पनि हुन पुगेका छन् । चलन बढेर गई बाक्लो भयो भने त्यसैलाई सही मानिएला तर अहिलेसम्म पनि हामी पचाइरहेका छैनौं । वर्णविन्यासमा समास भएका शब्दहरू जोडिनै पर्ने मेरो अँझै पनि मान्यता रहेकै छ । तर त्यहाँ समास भएका शब्दहरू छुट्याएर लेखे पनि हुने कुरा छ । म अहिले पनि चित्त बुझाउन सक्तिनँ । दुवै शब्दहरू मिलेर एकै भई एक अर्थ दिनु पर्ने लामखुट्टे, नीलकण्ठ, पूmपूसासू, गुरुबाबु जस्ता शब्दहरूलाई अलग लेख्ता एकै अर्थको साटो अनेक अर्थ पनि देखिन सक्छ । यसलाई सही मान्ने अवस्था आयो भने मानुला तर म अहिले यसरी लेख्नुलाई सही मान्दिनँ । यसै गरी संयुक्त क्रियापदहरू अलग लेखिने कुरा त्यसमा छ । त्यो पनि उचित त्यति लाग्दैन । पढिसकें, तातिरहेको, हाँसिरहेका, कुरिरहनु जस्ता केही पूर्वकालिक संयुक्त क्रियाहरूलाई जोडिनु नै पर्ने हो । यद्यपि यो छुट्याउने आग्रहलाई अहिलेसम्म कुनै पत्रपत्रिकाले मानिहालेको देखिन्न । उच्च माध्यमिक तहको अनिवार्य नेपालीको पाठ्यपुस्तकभन्दा अन्यत्र यसलाई स्वीकार गरेको देखिएको छैन । मैले नै भनेको कुरा यिनीहरूले नमानिदिएकोमा म नै खुसी छु । चूडामणि रेग्मीको अ, आ, अि, अी, अु, अू, अ‍े, ओ, अ‍ै, औ र रु रू र सबै रेफहरूलाई र नै लेख्नु पर्ने कुरा ता निजको प्रस्ताव मात्र हो । प्रचलनमा आउने कुनै सम्भावना नै छैन निजका प्रकाशनहरूमा बाहेक । प्रचलनलाई हल्लाउन यस्ता वैयक्तिक प्रयत्न काम लाग्दा हुँदैनन् । मूल प्रवाहमा सामान्य रोकावट लगाए पनि यस्ता प्रयासहरू हिलो माटोले खोलो थुन्नु जस्ता मात्र हुनजान्छन् ।

यसै गरी ललितपुर घोषणापत्र (२०६९) पनि नेपाली भाषाप्रेमीहरूको आयोजनामा भएको एक भाषिक तथा व्याकरणात्मक आन्दोलन नै थियो । यो आन्दोलन भने भाषिक विकासको अग्रगामी रूपतर्फ उन्मुख नभई पश्चगामी भएको छ । विशेष गरी नेपाली भाषाका आगन्तुक शब्दहरू (संस्कृत बाहेक) मा, तद्भव शब्दहरूमा आउने सलाई सबैतिर पातलो स मात्र लेखिनु पर्ने नियम अब निकै पाको भइसक्यो । यो कुरा २०५७ सालमा प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको भाषिक संगोष्ठीले स्वीकार गरेर आगन्तुक र तद्भव शब्दहरूका सबैतिर स मात्र लेख्ने र तिनमा आउने सुरु र माझमा आउने इ, उहरूलाई ह्रस्व मात्र लेख्ने कुरामा सहमति भएर आज यो कुरा परिपक्व भई व्यवहारमा समेत लागु भइसकेको अवस्था छ । अँझ यस नियमलाई त्रि.विले अँझै अघिदेखि लागु गरिसकेको छ । २०५६ सालका पाठ्यपुस्तकहरूमा नै यो कुरा लागु भइसकेको छ । तर यसरी चलेको यो नियमलाई यस घोषणाले उल्टाएको देखियो । आगन्तुक र तद्भव शब्दरुहमा सर्वत्र स मात्र लेखिने तथा आगन्तुक एव म तद्भव शब्दहरूको माझमा र सुरुमा सबैतिर ह्रस्व लेख्ने त्रि.वि.को प्रस्ताव पनि धेरै मात्रामा परिपक्व भइसकेको छ । यो कुरा पाठ्यपुस्तक र पत्रपत्रिकाहरूले निर्बाध चलाइसकेका छन् । शहीद, शुरु, ठीक, ठूलो, शेक्सपीयर, कोसिस जस्ता शब्दहरूलाई सहिद, सुरु, ठिक, सेक्सपियर कोसिसका रूपमा लेखिन थालेको पनि १०,१५ वर्ष भइसकेको अवस्था छ । तर ललितपुर घोषणाले फेरि त्यही पुरानो बाटोतिर फर्कने आग्रह गरेको छ । यो कुरालाई पश्चगामी निर्णयका रूपमा लिन सकिन्छ । यसैले यो पुरातनवादी सोच भयो । उता चन्द्रगढी घोषणापत्रको समास सम्बन्धी वा पदयोग पदवियोगको कुरालाई कतै पनि र कसैले पनि पालना गरेको देखिन्न । ह्विलचियर, पुच्छ«ेतारा थेगिनसक्नु, भाग्यचत्र, आयआर्जन (नागरिक : २०७० मङ्सिर २२) जस्ता समास भएका शब्दहरू यथावत् लेखिने गरेका छन् । यस घोषणापत्रको यो निर्णय सरासर गलत थियो । यसलाई अब सकार्न सकिने स्थितिरहेन । यसैले यी दुवै घोषणाहरू केही न केही मूलको प्रवाहमा जान नसकेका जस्ता देखिन्छन् । अहिले भाषालाई एक सूत्रमा बाँध्ने साधनका रूपमा राखेर हेरिनु पर्ने कुराको खाँचो भएको बेला भाषाका बारेमा बढी आत्मराग नदेखाउनु नै बुद्धिमानी हुनेछ । भइरहेको स्थिरतालाई नखल्बलाउनु नै चलाखी हुनेछ । यद्यपि सजीव भाषाको लेखनमा कहिल्यै पनि अन्तिम टुङ्गो लाग्न सक्तैन भन्ने कुरा स्मरणीय र मननीय छ । प्रचलनबाट हटेको वा मृतभाषाको व्याकरण र लेखनका बारेमा मात्र कुनै रडाको हुन्न । जीवित भाषा र त्यसको लेखनका बारेमा उतारचढाव हुनु भनेको ता सजीवताको एक लक्षण नै हो जो नेपालीमा भइरहेको छ ।

भाषालाई बिगार्नेमा पत्रिकाहरू र समाचार प्रसारणको क्षेत्रका काम गरेर कमाइखानेहरू पनि एक हुन् भन्ने कटुसत्य यहाँ अन्तमा उल्लेख गर्नु पर्दा मलाई अलिक असजिलो लागेको छ । बहुप्रचलित रूपहरू सरासर गलत रहेछन् भने सुधीजनहरूले सुधार्दै लानु पर्ने म पुन: स्मरण गराउन चाहन्छु । धेरै टेलिभिजन च्यानलहरू तथा एफएम रेडियोहरूका समाचार वाचकहरूलाई ती टेलिभिजन च्यानल र एफएमहरूले कमसेकम अक्षर चिनेका र सही उच्चारण गर्न सक्ने समाचारवाचकहरूलाई ग्राह्यता दिएर राखे मात्र पनि भाषाको शुद्ध रूप प्रचलनमा आउने थियो भन्ने आग्रह छ । आजका धेरै एफएम र टेलिभिजन च्यानलहरू (उपत्यका बाहिरकाहरूको ता कुरै नगरुँ, नेपाल टेलिभिजन, कान्तिपुर र उज्यालो समेत)ले ध, द्ध, द्व, द्य ध्य, घ्य द्य जस्ता अलिक असजिलो गरी बुझिने शब्दहरू सहीसँग बुझेका समाचार वाचक (र सम्पादक पनि) राखेमा केही बल पुग्ने थियो नेपाली भाषाको सही उच्चारणमा ।

अहिलेलाई यत्ति !

-साहित्य समीक्षाहोम सुवेदी,
__________________________________ मझेरी डट कम बाट साभार ,
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger