साहित्यकार : कोमलप्रसाद भट्ट
स्थाई ठेगाना : नैकाप काठमाण्डौ नेपाल
हाल : रोचेस्टार न्युयोर्क अमेरिका
शैक्षिक योग्यता : स्नाकोत्तर
अनुभव : शिक्षण (३४ बर्ष )
|
चुकुप्रकाश १४ औं मुक्तक दोहोरी (लोडसेडिङ बिशेष ) मा मुक्तककार कोमल भट्टले राख्नु भएका मुक्तकहरु मध्येबाट केहि मुक्तकहरु निम्न अनुसार थिए ...
मुक्तक १
जलश्रोतको धनी भन्छन् सुकेको छ देश मेरो
अझै पनि अँध्यारोमा डुवेको छ देश मेरो
अनीति र अनाचारले व्याप्त भए शाशक सधैं
लोड सेडिङ्गको मार खप्दै दुखेको छ देश मेरो ll
मुक्तक २
कति बस्ने अझै हामी टुकी तथा दियालीमा कति बोक्ने भारी अझै उकाली र ओरालीमा
बिजुली त छैन देशमा अँध्यारोमा बस्छौं अझै
रमाएर बस्छन् नेता शान शौकत र तालीमा ll
मुक्तक ३
दसैं आए जस्तै हुन्छ बत्ती बल्दा नेपालमा
गयो विकास नेताजीले छल्दा छल्दा नेपालमा
रोक्ने प्रयास भा'को छैन अझै सम्म लोड सेडिङ्गलाई
नेपालीले जाने कहाँ मुटु जल्दा नेपालमा ll
मुक्तक ४
संसारको विकास देख्दा कल्पेको छ आत्मा हाम्रो
आफ्नो देशको चाला देख्दा रोएको छ आत्मा हाम्रो
अझै सम्म अल्झेका छौं सोह्रौं सत्रौं शताब्दीमै
लोड सेटिङ्ग र अँध्यारोले दुखेको छ आत्मा हाम्रो
मुक्तक ५
अरू कुरा नसके नि बस्न देऊ उज्यालोमा
कति बस्ने नेपालीले टुकी तथा दियालोमा
आफ्नै चिन्ता गर्यौ नेता देशको स्वार्थ भुल्यौ सधैँ
यो देशलाई किन पार्यौ तिम्रो बसिबियाँलोमा ll
मुक्तक ६
विकासप्रेमी नेता भए कस्को चित्त रुन्थ्यो होला
देशको चिन्ता गर्या भए झिलिमिली हुन्थ्यो होला
सबै यहाँ तल्लीन छन् आफ्नो भुँडी भर्न मात्रै
नत्र देशको उन्नतिले सगरमाथा छुन्थ्यो होला
मुक्तक ७
बसेकाछन् धनिबानी झिलिमिली घरमा
सधैँ भरि दु:खी कै छ चिलबिली घरमा
लोड सेटिङ्गको मार खप्ने गरीबै हौँ हामी
धनीलाई छ रातोदिनै चिकेनचिली घरमा
मुक्तक ८
बस्ति बस्ति जाग्नुपर्छ लोड सेटिङ्गको विरुद्धमा
रातो दिने लाग्नु पर्छ लोड सेटिङ्गको विरुद्धमा
जगाउनु पर्छ अब निदाएको सरकारलाई
झिलिमिली माग्नु पर्छ लोड सेटिङ्गको विरुद्धमा
मुक्तक ९
साथीहरू अघिलाग्नोस् हामी आउछौं झण्डा बोकी
लोड सेटिङ्गको विरुद्धमा गीत गाउछौं झण्डा बोकी
बन्द हुन्न अभियान यो माग पूरा नहुन्जेलै
जता जता पुग्नु पर्छ त्यतै धाउछौं झण्डा बोकी ll
मुक्तक १०
अन्धकारले अतालिंदै कति बाँचौं हामी
घरी घरी हतासिंदै कति बाँचौं हामी
उडाइसक्यो सातोपुत्लो लोड सेटिङ्गले सबको
पीडा खपी छट्पटिदै कति बाँचौं हामी l
मुक्तक ११
झलमली छन् दायाँ वायाँ हामी अँधेरोमा
नेता चाँहि सधैं गुड्छन् चिल्ला पजेरोमा
कस्ले गर्छ देशको चिन्ता कस्ले गरीवीको
सधैंभरि लोड सेटिङ्ग छ हाम्रा कटेरोमा ll
1 comment:
Great ... Very nice
Post a Comment