गजलकार :
नाम : मानन्धर अभागी
ठेगाना : काठमाडौं
|
के मिसाइ पिलायो खै ढलाएरै छाड्यो
किन किन आज फेरि रुवाएरै छाड्यो
प्यास मेट्न मीठामीठा कुरा गरी व्यर्थै
निर्दयीले शिरमाथि चढाएरै छाड्यो
के विराम थियो मेरो दोषी भएँ आज
आज उस्ले आरोप त्यो लगाएरै छाड्यो
पूरा भयो स्वार्थ उस्को स्वार्थी रैछ कस्तो
पुगेपछि टाढाटाढा बनाएरै छाड्यो
कति छिटो विश्वास त्यो गरिहालें मैले
भुल भयो जिन्दगी यो डुबाएरै छाड्यो ।
गज़ल २
२०७१ साल फाल्गुण २ गते शनिवारका दिन आरम्भ साहित्य श्रृंखलाद्वारा आयोजित कार्यक्रममा गजल वाचन गर्दै मानन्धर अभागी । |
जिन्दगीको के नै दोष त्यो तक्दिरलाई सोध
सँधै पुज्ने त्यो द्यौता र मन्दिरलाई सोध
ठूलो ठूलो तिम्रो ईच्छा पूरा गर्ने सम्बन्धमा
म गरिवलाई के सोध्छौ त्यै अमिरलाई सोध
सजाएकै होलाउ नि झुण्डिएको कोठाको भित्तामा
तिम्रो प्रश्नको जवाफ त्यो तस्वीरलाई सोध
रुप धारण गरेर कहाँ कहाँ वटारियौ ?
तिमी आफूले आफ्नै त्यो शरीरलाई सोध
तिम्रो भविष्य वारे तिम्रो पछि जो लाग्दैछ
मलाई के नै सोध्छौ र त्यै मुशाफिरलाई सोध ।
गज़ल ३
झुठो प्रेम यत्रतत्र बजारमा अचेल
चोखो प्रेम मात्र एक हजारमा अचेल
मनसँग नगरेर धनसँग गर्छ
चलन यो यस्तै रै छ संसारमा अचेल
चौटा खान गाकी बुढी के भएर मरी
आँखा चिम्ली हाम फाल्ने हतारमा अचेल
आजकाल कति सस्तो माया प्रिती हेर
भित्री सोच अर्कै रैछ विचारमा अचेल
व्यग्र मन उन्माद वैंश धपक्क बल्यो हेर
खुले आम जे गर्न नि तयारमा अचेल ।
गज़ल ४
आज सय पचास उठाएर आएँ
आफ्नै दाह संस्कार गराएर आएँ
कलेजो त्यो नशाले चिरा चिरा पारेछ
पिएरै यो जिन्दगी सकाएर आएँ
निम्तो गरी खुवायो खुवाएरै रुवायो
आफन्त त्यो सामुन्ने हँसाएर आएँ
सँधै सँधै वेइज्जती गरीव भएर हो ?
बरु दिदी नवोला बताएर आएँ
साना देखि ठूलाको भनाइ त्यो खाएर
झरी सरी यो आँशु वहाएर आएँ ।
काठमाडौं मा गज़ल बाचन गर्दै , मानन्धर अभागी , [ फोटो : मानन्धर अभागी फेसबुक पेज ] |
आज प्रजातन्त्र दिवस मनाउनु अघि
संविधान देउ मलाई जलाउनु अघि
पाँच पाण्डव तिमीहरू म कस्की हुँ भन्ने
पहिचान देउ मलाई बताउनु अघि
गर्भ बोकाएर तिमीहरू घाँटी ङ्याक्न खोज्दैछौ
कोखबाट यो शिशु जन्माउनु अघि
सास अझै बाँकी होला ढुकढुकी छामी हेर
लाश माथि त्यो कात्रो ओढाउनु अघि
दागबत्ती दिने को ? मेरो पहिलो प्रश्न ?
जिउँदो यो लाश उठाउनु अघि ।
© मानन्धर अभागी ।
No comments:
Post a Comment