तलको सम्पूर्ण गज़लहरु सामुन्द्रिक छल्का संयुक्त गज़ल संग्रहमा प्रकाशित गज़लहरु हुन् |
गजल १
साचो माया प्रिती गाँस्ने खोटाङ्गे हुँ म ।
दुःख मानि रमाई हाँस्ने खोटाङ्गे हुँ म ।।
रावा सावा साप्सुसँगै लुकामारी खेल्दै ।
मेरुङ सेल्मे मनमा टास्ने खोटाङ्गे हुँ म ।।
हलेसी र बाराहाको आशिर्वाद थापी ।
अन्यायको जरै मास्ने खोटाङ्गे हुँ म ।।
आफ्नै सिमा भोजपुरको सिरुपाते खुकुरीले ।
तप्कन दिने रुख छाँस्ने खोटाङ्गे हुँ म ।।
दुधकोसिको चिसो पानी अन्जुलिले खाई ।
सगरमाथा शिरमा बास्ने खोटाङ्गे हुँ म ।।
–दिपेन्द्र राई ‘अश्रुमाली’
खोटाङ छोरम्बु
गजल २
हिजो बेग्लै आज बेग्लै भोली पनि बेग्लै हुन्छ ।।
जिन्दगीको भोगाइसँगै चोली पनि बेग्लै हुन्छ ।।
हुँदा खेरी मै हुँ भन्ने स्वाभब नै हो मानिसको ।
हेरी बुझ बर्र्ष याममा खोली पनि बेग्लै हुन्छ ।।
रणभूमि मैदानमा पल पल भेट्ने जवानलाई ।
सोधी हेर सोचे भन्दा गोली पनि बेग्लै हुन्छ ।।
दुनियाँ लाई के थाहा हुन्थ्यो दुखी मनको रहरमा ।
हाँस्ने खेल्ने रमाउने टोली पनि बेग्लै हुन्छ ।।
प्रदेसिको जीवन भित्र सपनाको खेती सँगै ।
मनको कथा पोक्याउने झोली पनि बेग्लै हुन्छ ।।
– दिपेन्द्र राई ‘अश्रुमाली’
खोटाङ छोरम्बु
गजल ३
सांचो माया पिरतिमा मुटु रोप्ने छुरा भेटे ।
तड्पाएर यादै तादले मार्छु भन्ने कुरा भेटे ।
निष्ठूरिको प्रेमजालमा फस्नु फँसी सके पछी ।
अर्कै हातले लगाएको सिन्दुर पोते चुरा भेटे ।
सँगै बाँच्ने मर्ने बाचा मेरो पुरा भई सक्दा ।
निष्ठूरिको जीवन साथी बन्ने अर्कै सुरा भेटे ।
पहिलो माया पहिलो प्रेम अर्कै मनको हुँन पुग्दा ।
ना त जीवन मार्न सके नात खुशी पुरा भेटे ।
मनको सबै साम्राज्यनै अतितसँग ताल्चा लाग्दा ।
“दिपेन्द्रको’ हरेक सपना लङगडा र लुरा भेटे ।।
– दिपेन्द्र राई ‘अश्रुमाली’
खोटाङ छोरम्बु
गजल ४
शहर भनी मख्ख नहौ, शहरमा त जाली हुन्छन् ।
हेर्दा राम्रो भए पनि, दयाको त खाली हुन्छन् ।।
सुन्दर शान्त परिवार, देखे पनि महल भित्र ।
चुलोचौको भाडाकुडा,आफ्नो आफ्नो थाली हुछन् ।।
हरेक चोकमा भलाद्मी भै, बस्ने सुन्दर युबकहरु ।
अक्सर थोरै ज्ञानी होलान, धेरै भने दलाली हुन्छन् ।।
शहरको हूल भित्र, तिमिले जे काम गरे पनि ।
न त कोही गाली हुन्छन, न त कोही ताली हुन्छन् ।।
धनको धनी भए पनि, मनको गरीब हुनेहरु ।
आफू आँफै फूल हुन्छन, अनी आँफै माली हुन्छन् ।।
–दिपेन्द्र राई ‘अश्रुमाली’
खोटाङ छोरम्बु
गजल ५
ढुङगा फोर्छु माटो खन्छु घर बनाउँछुं ।।
बिकट भो रे मेरो गाउँ शहर बनाउँछुं ।।
छिन् भर मै लुटिन्छन् मनकारी गाउँलेहरु ।
अब गाउँले मन पनी पत्थर बनाउँछुं ।।
परिश्रमको पसिनाले जिउ भिजी गनाउँदा ।
पसिनाको मूल्य बेच्छु अत्तर बनाउँछुं ।।
चाहिंदैन पिजा बर्गर जानु छैन डिस्को ।
गुन्द्रुक ढिडो बाट घरमै दर बनाउँछुं ।।
मेची काली कर्णाली बिदेसिकै हुन्छ भने ।
सित्तै बग्ने पानी सुकाइ बगर बनाउँछुं ।।
–दिपेन्द्र राई ‘अश्रुमाली’
खोटाङ छोरम्बु
दिपेन्द्र राई ‘अश्रुमाली’ को केहि नेपाली गज़लहरु
Labels:
गजल,
सामुन्द्रिक छल्का
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment