साहित्यकार : कोमलप्रसाद भट्ट
स्थाई ठेगाना : नैकाप काठमाण्डौ नेपाल
हाल : रोचेस्टार न्युयोर्क अमेरिका
शैक्षिक योग्यता : स्नाकोत्तर
अनुभव : शिक्षण (३४ बर्ष )
|
मायाँलुको छायाँ मीठो प्रतिच्छाया मीठो
प्रतिच्छाया भन्दा अझ चोखो माया मीठो
मायाले नै हराभरा हुन्छिन् वसुन्धरा
यस्तो लाग्छ मायालुको दायाँबायाँ मीठो ll
मुक्तक २
प्रतिक्षामा बस्दा बस्दै नराम्ररी थाकेको छु
लखेट्दैछन् निराशाले अत्तालिँदै भागेको छु
जताततै तेर्सेकाछन् तगारा र काँडा मात्रै
कसो गरी आउँछ्यौ प्रिया,अब आशा मारेको छु ll
मुक्तक ३
शिर माथि छामी हेरेँ केशै छैन जस्तो लाग्यो
अस्तित्व नै उदाङ्गियो भेषै छैन जस्तो लाग्यो
धोका पाउँदा नेपालीले रोएको छ आत्मा आज
मुटु भरि खोज्दा पनि देशै छैन जस्तो लाग्यो ll
मुक्तक ४
नेपालीलाई तिम्रो चोखो विश्वास भए लाख हुन्थ्यो
डाँडा काँडा कन्दरामा विकास भए लाख हुन्थ्यो
काटामारको संविधान त्यो किन चाहियो नेपालमा
गरीवलाई गाँस,बास,कपास भए लाख हुन्थ्यो ll
मुक्तक ५
आफ्नो देशको ताल देख्दा चित्त दुख्छ नेपालीको
शकुनीको चाल देख्दा चित्त दुख्छ नेपालीको
कति वर्ष कुर्नु पर्ला संविधानको लागि अझै
सधैँ हाताहाल देख्दा चित्त दुख्छ नेपालीको ll
मुक्तक ६
के होला र नेताज्यूलाई,नेपालीका निराशाले
पग्लिंदैनन् पाषाण मूर्ति,कहिल्यै पनि गुनासाले
आफू बने पुग्छ सबलाई,देशको चिन्ता छैन अब
के को विवेक राख्छन् यहाँ निष्ठुर रक्तपिपासाले ll
मुक्तक ७
एउटा कुरा बुझौँ सबले संघर्ष हो जीवन हाम्रो
रोदन मात्र हुन्न सधैँ प्रहर्ष हो जीवन हाम्रो
कुर्न सक्नु पर्छ हाम्ले बेला आउँछ मुस्कुराउने
उठ्नु पर्छ माथि माथि उत्कर्ष हो जीवन हाम्रो
मुक्तक ८
कसरी भनौँ खै ! हाम्रो यथार्थता
कोमल भट्ट |
विखण्डन मात्रै चाहेकाछन् सबले
एकादेश कै कथा भयो अब एकता ll
मुक्तक ९
मस्ती गर्ने गरेकै छन् हाम्रो नेपालमा
भुँडी भर्ने भरेकै छन् हाम्रो नेपालमा
कस्ले हेर्छ बेथिती र लथालिङ्ग चाला
मर्नेहरू मरेकै छन् हाम्रो नेपालमा ll
मुक्तक १०
फूल सरी सरीको शुभकामना तिमीलाई
मुटु भरि भरिको शुभकामना तिमीलाई
सुख ,शान्ति ,सम्वृद्धिले,भरिपूर्ण होस् सधैं नै
अनि घरी घरीको शुभकामना तिमीलाई ll
मुक्तक ११
हाँस्दै खेल्दै अघि बढ्ने,चाहा हुन्छ जिन्दगीमा
सुख शान्ति ओझेल पर्दा,डाहा हुन्छ जिन्दगीमा
घाम,पानी,हुरी,बतास,खप्नु पर्छ बारम्बारै
आफ्नो दर्द आफैंलाई नै,थाहा हुन्छ जिन्दगीमा ll
मुक्तक १२
आफ्नो मुटु मात्रै प्यारो,ठान्न थाल्यो आज मान्छे
अर्को माथि तीखा वाण,हान्न थाल्यो आज मान्छे
जिन्दगीको मूल्य केहो ? बिर्सिंदै छ धमाधमी
निजी स्वार्थ सर्वोपरी,मान्न थाल्यो आज मान्छे ll
मुक्तक १३
पीडाहरू छाती भित्रै,लुक्दारैछन् कहिले काँही
रुँदा रुँदै आँसु सबै,सुक्दारैछन् कहिले काँही
के के खप्नु पर्ने हुन्छ,थाहा हुन्न जिन्दगीमा
स्वाभिमानी शिर पनि,झुक्दारैछन् कहिले काँही
मुक्तक १४
प्रतीक्षामा एउटा मुटु टुक्रिएको धेरै भयो
व्यग्रताले आँसु धारा वर्षिएको धेरै भयो
अनायासै बन्द भए भरोषाका बाटा सबै
कल्पनाको सीसमहल भत्किएको धेरै भयो ll
मुक्तक १५
अशान्ति मै विते यहाँ कैयौँ कैयौँ सालहरू
बिग्रिएर भताभुङ्गै भएका छन् हालहरू
घाम जून नपाएर ओइली सक्यो जिन्दगी यो
बारम्बारै आक्रमण छ पल्किए कि कालहरू ?
ब्यक्तिगत फेसबुक ठेगाना :
No comments:
Post a Comment