को फेसबुक नोट बाट साभार ,,,,,
काफिया के हो ?
गजलमा काफिया अत्यावश्यक र शक्तिशाली अस्त्र हो । गजलमा मतलामा प्रयोग गरिएको काफियाको प्रकारले बाँकी सेरमा प्रयुक्त हुने काफियाको निर्धारण गर्छ । गजलमा सेरहरुका पहिलो हरफले उत्सुकता जगाए जस्तै काफियाले पनि श्रोतामा उत्सुकता जगाउँछ । पाठक भन्दा पनि गजल सुन्न बसेका श्रोताले कुन काफिया प्रयोग गरेर सेरलाई कसरी पूर्णता दिन्छ भनेर श्रोतोको उत्सुकतालाई चरममा पुर्याउने गर्दछ र सेरमा काफियाको सुन्दर प्रयोगले त्यो उत्सुकताको चरमलाई समाधान गर्दै त्यही चरमको अवस्थामा नै भावको गहिराईको विस्फोट गराउँदछ ।
मतलामा दुईपटक र अन्य सेरमा एक पटक रदिफ अगाडी आउने तुकबन्दि मिलेको शब्दलाई काफिया भनिन्छ । गजलमा काफिया अर्थात् शब्दको तुकबन्दि सरल कार्य होइन । यसका पनि केही नियमहरू छन् । काफिया हुनको लागि तुकबन्दि र साम्यता दुवै हुनु जरुरी छ ।
स्वर साम्यता : शब्दमा समान स्वर साम्यता भएमा त्यो स्वर साम्य काफिया हुन्छ जस्तै धुजा, कुरा (उ आ स्वर समानता)
व्यञ्जन साम्यता : शब्दमा समान व्यञ्जन साम्यता भएमा त्यो व्यञ्जन साम्य काफिया हुन्छ । आधा बाधा (आ आ)
स्वर व्यञ्जन साम्यता : स्वर र व्यंजन दुवैको साम्यता भएको काफियाहरुमा खाना दाना पाना छाना माना आदि लिन सकिन्छ ।
वास्तवमा काफिया या तुकबन्दी स्वर र व्यञ्जनको आंशिक एकताले बन्दछ ।
गजलमा मतलामा प्रयुक्त काफियाले नै अन्य सेरहरुमा पनि काफिया निर्धारण गर्दछ । मतलामा पूर्ण काफिया र अन्य सेरमा आशिंक काफिया प्रयोग गर्न मिल्दैन ।
दुई शब्द तब मात्र हमकाफिया हुन्छ जब तिनमा साम्यता हुन्छ र यसै साम्यताको कारण ती काफिया बन्दछ । यस साम्यताको आधारमा काफिया दुई प्रकारको हुन्छ । स्वर साम्य काफिया र व्यञ्जन साम्य काफिया ।
स्वर साम्य काफिया : स्वरको साम्यता भएका काफिया उर्दुमा प्रचलित छ र अब नेपालीमा पनि यसको प्रचलन बढदो छ । जस्तै छाना, माना, दाना आदि ।
तर धुँवा, कुँवा, सँग जुवा खुवा आदि काफियालाई पनि पनि पूर्ण काफियाको रूपमा लिन भने सकिन्न किनभने यहाँ स्वर साम्यता भएता पनि व्यञ्जन साम्यता भने छैन । नेपाली भाषा कोमल उच्चारण गरिएता पनि हामी तिखो उच्चारण गर्दछौँ, तसर्थ कतिपय नासिक्य उच्चारण हुने शब्दहरूलाई काफियाका रूपमा प्रयोग गर्दा सतर्क हुनु आवश्यक छ ।
केही शब्दहरू उच्चारण गर्दा समानता भए पनि लेख्दा यसमा भेद देखिन्छ । जस्तो फूल र फुल दुवै उच्चारण गर्दा समान छन् तर लेख्दा फरक तरिकाले लेखिन्छ । तर केही शब्दहरू भने दीर्घ उच्चारण नगरेमा अर्थ खुल्दैन । जस्तो :
मेरो माया एकतिर भो
तिम्रो माया एक तीर भो
यहाँ तीर शब्दले बाण जनाउँछ ।
त्यस्तै : दया र नयाँ शब्दमा या को उच्चारण पश्चात् आ स्वर आउँछ तर नियालेर हेर्ने हो भने नयाँ लेख्दा या माथि चन्दबिन्दुको प्रयोग गरिन्छ र उक्त याँ उच्चारण नासिक्य हुन्छ । यस प्रकारको काफियालाई मलफुजि काफियाभनिन्छ र यस्ता काफिया प्रयोग गरिएका गजललाई इक्फा दोषयुक्त गजल भनिन्छ । नेपाली भाषा बोलिँदा कोमल उच्चारण गरिने भएकोले छन्द या बहरमा तिर र तीर जस्ता काफिया प्रयोग गर्दा भने समस्या आउँछ ।
तर हामी नेपाली भाषाका शब्दको उच्चारण गर्दा कोमल उच्चारण गर्ने भएकोले यसले काफिया सिर्जना गर्दा भने सजिलो पनि बनाएको छ । फूललाई हामी ह्रस्व उच्चारण गर्दछौँ त्यसैले फूल र फुल उच्चारण गर्दा विभेद देखिन्न । उर्दुमा गुलाब र शराब लाई काफियाका रूपमा बाँध्न सकिन्न तर नेपालीमा कोमल उच्चारण हुने भएकोले दुवैलाई काफियामा लिन सकिन्छ । आगन्तुक शब्दलाई काफियाका रूपमा प्रयोग गर्दा भने अलि होसियार हुनु पर्दछ । ख्वाहिसलाई खायस, दस्तखतलाई दस्खत, मुआफिकलाई माफिक, मुआफीलाई माफी गरेर शब्दहरूलाई उच्चारणकै हिसाबले प्रयोग गर्नु श्रेयस्कर हुनेछ ।
उर्दुको सहर र नेपाली सहरको अर्थ नै फरक छ । यस्ता शब्दहरूलाई मक्तुबी काफिया भनिन्छ तर नेपाली भाषामा फारसी, अरबी र अङ्ग्रेजी भाषबाट पनि निक्कै शब्दहरू आएका भएपनि तिनका उच्चारण र प्रयोग (ख्वाहिस = ख्वायस, दस्तखत = दस्खत, मुआफिक = माफिक, मुआफी = माफी) आफ्नै ढङ्गबाट गरिने हुँदा नेपाली भाषामा यो भेद देखिदैन ।
के खासमा यही त हो अनुहार हजुरको
मौसम सरि फेरिन्छ व्यवहार हजुरको
यो मैले नै अज्ञानतावस लेखेको एक अगजलको मतला हो र यसबारेमा ज्ञान दिनुहुने आदरणीय गुरुवर भक्ति प्रसाद पौड्याललाई नमन गर्दछु । यस मतलाको काफियामा इता दोष छ ।
शब्दलाई बिग्रह गर्दा मूल शब्दमा पनि समानता भए त्यसलाई काफियाको रूपमा लिन सकिन्छ । जस्तो : रसिलो र कसिलो । रसिलो र कसिलो शब्दका प्रत्यय हटाउँदा (रस + इलो = रसिलो, कस + इलो = कसिलो) रस र कस शब्दमा स्वर साम्यता र मूल शब्द भएकोले यो काफिया ठीक छ तर माथिको मतलामा भएको अनु + हार, व्यब + हार गलत हुन जान्छ । यस अर्थमा हेर्दा "हार हजुरको" रदिफ हुन आउँछ र "अनु र व्यब" काफियाका रूपमा स्थापित हुन्छन् । यसरी माथिको मतला मा काफिया दोष देखिन्छ ।
अर्को ध्यान दिनुपर्ने कुरा के भने नामी दामी सँग खामी या हामि काफिया राख्न भने मिल्दैन । नाम + ई = नामी, दाम + ई = दामी हुन्छ तर खामि या हामि शब्द खाम या हाम मूल शब्दमा ई प्रत्यय जोडिएर बनेको होइन, खामि र हामी मूल शब्द हो र यसको अर्थ अपुग र स्वीकार हो ।
शब्द बिग्रह गरेर प्रत्यय निकाल्दा समेत मूल शब्द हम काफियाको रूपमा आउँछ र प्रयोग गर्न मिल्छ भने यसलाई काफिया मान्न सकन्छि अन्यथा काफिया दोष हुन्छ ।
सौती काफिया : पश्चिमी भेगका केही गजल स्रष्टाहरुले कतिपय हिन्दि तथा उर्दु शब्दहरूलाई मनोमानी ढङ्गले काफियामा प्रयोग गरेको पाएको छु । उदाहरणको लागि जुन, धुन पश्चात् खुन । खुन अर्थात् रगत । खुन उच्चारण गर्दा जिब्रोले स्वरतन्त्रिलाई ढाकेर विशेष प्रकारले स्वरलाई भित्रै दवाएर उच्चारण गरिन्छ । तर जुन र धुन उच्चारण गर्दा तालव्य उच्चारण हुन्छ । लेख्दा उस्तै देखिए पनि उच्चारणका हिसाबले फरक हुने भएकोले यसलाई सौती काफिया भनिन्छ र गजल स्रष्टाले गजल कहदा यसलाई सौती काफियाको रूपमा प्रयोग गरेको भनेर भन्नु पर्दछ ।
अब लागौँ रदिफ तर्फ
रदिफ के हो ?
रदिफ गजलमा दोहरिने शब्द या शब्द लहर हो । शब्द लहर भन्नाले केही गजलहरुमा दुई, तीन, चार या सो भन्दा माथि सङख्याका शब्द सम्मको रदिफ प्रयोग गरिएको पाइएको छ ।
रदिफ मतलामा दुई पटक मिसराको अन्तमा र अन्य सेरहरुमा मिसराको अन्तमा एक पटक प्रयोगमा आउछ । मतला या सेरमा प्रयुक्त भए पनि रदिफको आचरण या स्थिति स्थिर हुन्छ र यसमा कुनै फेरबदल आउदैन् । गजलको नियमानुसार रदिफलाई फेरबदल गर्न वर्जित गरिएको छ । रदिफको रूपमा मतलामा प्रयुक्त रदिफ नै हरेक मिसरामा रूप नफेरिएर दोहरिने गर्दछ ।
रदिफको गौण शक्ति के हो भने यसले मिसरामा काफियासँग मिलेर सेरलाई पूर्णता दिन्छ र सेरका भावसँगै रदिफ पनि मिलेर अर्थ खुलाउछ ।
उदाहरणको लागि यहाँ रावतको एक गजल, रवि प्राञ्जल सरको एक गजल र बाबु त्रिपाठीको एक गजल लिएको छु ।
रावतको गजलको रदिफ हेरौं ।
दुइटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ
जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ ।
सधैँ चर्किनैँ खोज्ने, सधैँ फुट्नै खोज्ने
सिसा र मेरो निधार उस्तै उस्तै लाग्छ ।
भोको पेटमा ज्यादा, भरी पेटमा कम लाग्ने
मदिरा र सरकार उस्तै उस्तै लाग्छ ।
यस गजलमा मिटर र लयलाई ध्यान नदिएर रदिफको प्रयोग मात्र होरौँ । रदिफको रूपमा तीन शब्द “उस्तै उस्तै लाग्छ’ प्रयोग गरिएको छ । ध्यान दिनुपर्ने कुरा के छ भने रदिफले अन्य मिसरामा पनि काफियासँग मिलेर दाँज्ने कार्यमा सहायता गरेको छ र अन्तमा सेरसँग मिलेर पूर्णता र अर्थ दुवै प्रदान गरेको छ । यस अर्थमा यस गजलमा गरिएको रदिफको प्रयोग ठीक र दुरुस्त छ ।
यस्तै गरेर रवि प्राञ्जल सरको यस गजलमा प्रयुक्त रदिफलाई हेरौं ।
हुने खाने त्यता तिर
हुँदा खाने यता तिर
उतैतिर चल्छ सुवास
चल्छ हावा जता तिर
पर्न छाड्यो जूनको किरण
फूल, पात, लता तिर
ढुंगे युगमै पुग्यो मान्छे
फेरि दन्त्य–कथा तिर
जता हेरुँ अँध्यारै छ
खोजूँ रवि कता तिर ?
यस गजलमा रदिफको रूपमा एक शब्द "तिर" लाई लिइएको छ । मतला देखि लिएर हरेक मिसरामा प्रयुक्त रदिफ सेरमै बिलय भएर अर्थदिने बनेको छन् । मक्ताको (तखल्लुस प्रयोग गरिएको अन्तिम सेरलाई मात्र मक्ता भनिन्छ अन्यथा अन्तिम सेर भनिन्छ) सुन्दरता के भने मक्तामा तखल्लुस व्दिअर्थि रूपमा प्रयोग गरिएको छ। तखल्लुस दुई प्रकारले प्रयोग गरिन्छ । व्दिअर्थि रूपमा प्रयोग गरेर तखल्लुसको भान नै नदिइ र आफैलाई सम्बोधन गरिदा ।
अब बाबु त्रिपाठीको गजल हेरौं ।
नप्यूँनु हानी छ अरूलाई सुझाव
मेरो त बानी छ अरूलाई सुझाव
जति छन् प्यूँनेहरु ती सबसँग
मेरो चिनाजानी छ अरूलाई सुझाव
दिल टुटेर पिएको हुँदै होइन
भिन्दै कहानी छ अरूलाई सुझाव
प्यूँन सधैँ कहाँ रुपियाँ ले पुग्थ्यो र
पिलाउने दानी छ अरूलाई सुझाव
भट्टी छ मदिरा छ र त बाबु छ
यो जिन्दगानी छ अरूलाई सुझाव
माथिको गजलमा रदिफको रूपमा "अरूलाई सुझाव" लिइएको छ । अब यस गजलको मतला हेरौं ।
नप्यूँनु हानी छ अरूलाई सुझाव
मेरो त बानी छ अरूलाई सुझाव
मतलामा प्रयुक्त रदिफले काफियासँग मिलेर पूर्णअर्थ प्रदान गरेको छ । रक्सीको बारेमा भनिएको छ, "नप्युँनु हानी छ अरूलाई सुझाव । मेरो त बानी छ तर बानी नभएका अरूलाई सुझाव ।"
अब बाँकी मिसराहरुमा जाऔं ।
सेरले खुलाएको अर्थ यस्तो छः "बाँकी जति प्युनेहरु छन् तीसँग मेरो चिना जानी छ, अरूलाई सुझाव ।" रदिफ बाहेकका मिसराले अरूलाई के सुझाव दिएको हो त्यो यस सेरमा खुल्न सकेको छैन । अर्थात् सेरको मुखय विषय एकातिर छ भने रदिफ अलग्ग बसेको छ । सेरको दोस्रो भाग अन्तिका (जर्ब) को रूपमा आएको रदिफलाई सेरमा मिसाएर हेर्दा पनि यो बिल्कुल अलग प्रतित भएको छ । बाँकी सेरहरमा पनि रदिफको अवस्था यस्तै छ ।
यसरी मिसरामा पूर्णत् अलगथलग र अर्थबिहिन अवस्थामा रदिफ बसेको छ या प्रयुक्त छ भने यो रदिफ दोष मात्र हैन, गजल नै भनिदैन । रदिफलाई यसरी मिसराबाट अलग थलग झुण्डाएर मात्र राख्न मिल्दैन । रदिफ मिसरामा मिसिएर अर्थ प्रदान गर्ने हुनैपर्छ । अन्यथा यसलाई गजल भन्न मिल्दैन ।
गजलका दुई धार प्रचलित छन् । अरबि धारका गजलमा रदिफको कम पैचलन हुन्छ भने फारसी धारका अधिकांश गजलहरुमा रदिफको प्रयोग हुन्छ । त्यसैले गजलमा रदिफ हुनै पर्दछ भन्ने कुनै कडा नियम छैन, बिना रदीफको गैर–मरद्दफ गजल पनि हुन्छ । तर रदिफको प्रयोग गर्दा भने यसको नियमलाई पालना गर्नै पर्दछ । गजल निश्चित् नियमबद्ध भएर नै लेखिन्छ ।
पुनश्चः म रावतजी र बाबु त्रिपाठीजीसँग उहाँको यस गजललाई उदाहरणको रूपमा पेस गर्नु परेको अवस्थाका लागि क्षमा चाहन्छु ।
1 comment:
अरबि धारका गजलमा रदिफको कम पैचलन हुन्छ भने फारसी धारका अधिकांश गजलहरुमा रदिफको प्रयोग हुन्छ ।
Hindi Kahani
Post a Comment