मनोवाद !
-जे .सागर
जे . सागर |
म जन्मिएपछि बुबाले ज्योतिषीलाई देखाएर चिना टिपनपनि लेखाएकै हो,चिना टिपन हेरेर ज्योतिषीले छोराको राजयोग परेको छ भाग्यमानी बन्छ भन्दा बा आमा फुर्केर भुँईमा न भाँडामा हुनुभएको थियो रे ! पछिपनि यसो पहेंलो कपडा लगाएर हिड्ने देखि पात्रो पल्टाउन जान्ने सबैलाई भाग्यको बारेमा सोधेकै हो । कसैले आमा गोत गएको छोरो भाग्यमानी हुन्छ भने, आमालाई घुरी घुरी हेरेर आमासँग मिलेको निर्क्योल पनि निकालेकै हो। कसैले नाक कान निधार ठूलो छ भाग्यमानी हुन्छ भने ,हरेक दिन ऐना हेर्दै नाक कान नाप्दा पनि आफूलाई भाग्यमानी नै सावित गरेको हो। निधारको क्षेत्रफल पनि त सानो छैन ! त्यताबाट पनि भाग्यमा कुनै घुन पुतली लाग्ने ठाउँ थिएन ।
पछि आएर उमेर बढ्यो, बैँस चढ्यो,, के नजानेको जस्तो लाग्थ्यो र ? के नभएको जस्तो लाग्थ्यो र ? अग्लो कद सर्लक्क मिलेको जिउडाल , कसैले हिरो बन्न सक्छस भने, दुई चार लाइन गीत सुनाइदिदा कसैले दोस्रो नारायण गोपालको दर्जामा राखे, रेडियोमा बोलेको क्यारिकेचर गरेर सुनाईदिन्थें बिजय कुमारलाई टक्कर दिने व्यक्तिको रुपमा पनि आँकलन गरियो, अम्लेट फर्काउदा फर्काउँदै कविता तयार हुन्थ्यो कसैले दोस्रो देवकोटा भन्न पनि बाँकी राखेनन सर्वगुण सम्पन्न !!! मानौं भाग्यको ढोका खोल्न त गेटपाले हरु तम्तयार भएर बसेका ,,,,मात्र म कुन ढोकाबाट पस्ने भनेजस्तो !! यी यावत् गुण ,चिनाको लेखान्त, ज्योतिषीको कथ्यहरुलाई लोप्पा खुवाउँदै समयले चाहिँ किन यसरी जमाएर लात मारेको होला ? नियतिले चाहिँ किन साँहिली औंलो ठाडो पारेर देखाइदिएको होला ?
आजकाल त यस्तो लाग्छ ,अझै पनि छोराको भाग्य भनेर आमाले सन्दुसको कुनामा राखेको मेरो राजयोग परेको त्यो चिना च्यातचुत पारेर आगो लगाइदिउँ ! भाग्य न साग्यको यो कुरुप देखाउने ठूलो नाक र कानपनि रन्दा लगाएर सम्म पारिदिउँ ! सबै राम्रो भनिदिने त्यो ज्योतिषीलाई बोलाएर पहिले ससम्मान टन्न जाँड खुवाउँ अनि करङको गीतार बजाउँ !!
................. तर सक्दिन ,,,,अझै पनि आशे छ यो लुब्ध मन ,,कुनै न कुनै दिन त त्यो राजयोगको असर देखिन्छ कि !!!
No comments:
Post a Comment