मुक्तकहरु :
टेक भण्डारी
एलिजाबेथ,एडिलेड
साउथ अष्ट्रेलिया
|
यहाँ गुलाब फुलबिच काँडा भेट्दैनन्
जाल रच्छन जिवनको सार लेख्दैनन्
फुल रोपे सुगन्ध मिल्छ भन्ने नजानेर
अबोध नयनमा मिठो स्वप्ना देख्दैनन्।
झुटो मायामा अमृत घोल्दै सदर गरिन्छ
चोखो मायामा बिष घोल्दै बदर गरिन्छ
कहिले अछुत त कहिले गरिब भन्दै यहाँ
किन प्रेममा धन र जातको कदर गरिन्छ।
फुल फुल्छ काँडाबिच काँडा छुन सक्नुपर्छ
हत्केलामाथी काँडाहरु पर्दा रुन सक्नुपर्छ
मै हुँ ठुलो अनि महान भन्ने अहम्ता त्यागा
बिचारसंगै मनको मैलो सबै धुन सक्नुपर्छ।
धेरै खोजेँ मिठो स्वप्ना जिवन जिउँने क्रममा
जिवन के हो थाहा पाएँ जहर पिउँने क्रममा
जिन्दगानी घाम छायाँ बर्खाको त्यो भेलसरी
नयनबाट आँशु धेरै पोखेँ मुटु सिउँने क्रममा।
यहाँ कर्म बेचिन्छ जब दिनमै ढल्छ मान्छे
यहाँ मर्म बेचिन्छ जब छिनमै गल्छ मान्छे
यसरी ढल्दै र गल्दै सडकमा पल्टिएपछी
यहाँ धर्म बेचिन्छ जब रृणैमै जल्छ मान्छे।
उनी प्यासमा हराउँछिन मात्तिएर
फेरी रातमा कराउँछिन आत्तिएर
जुनेली रातमा उनलाई मज्जा हुन्नरे
पसिनाले भिजेर डराउँछिन तात्तिएर।
हाँस्नेहरु हाँसेकैछन आँशुसरी रुँदा म
बाँच्नेहरु बाँचेकैछन मृत्युलाई कुर्दा म
दैब पनि निष्ठुर रैछ हतारिँदै चुँडी लाने
नाँच्नेहरु नाँचेकैछन चिता माथी घुर्दा म।
तिमी छौ र त म छु मनको बगैँचामा
तिम्लेनै गर्दा रमाउँछु धनको बगैँचामा
तिमी नभए जिन्दगी काँडासरी हुन्थ्यो
तिम्लेनै गर्दा हराउँछु तनको बगैँचामा।
लेख्छन यहाँ लेख्नेहरु हार सहेर
रुन्छन यहाँ रुनेहरु चित्कार सहेर
हेर्दा त राम्रा नराम्रा सबै छन हेर
झुक्छन कती त तिखो प्रहार सहेर।
मुहार राम्रो धुम्टोभित्र फुल्झैँ सजिएको
उस्तै राम्रो सिन्दुरले सिउँदो रंगिएको
फुलपाती अक्षता दही दुधले पर्सीँदै
रातो साडी चुरा पोते सुनले जडीएको।
सामान्य परिचय
नाम : टेक भण्डारी
हाल :
एलिजाबेथ,एडिलेड
साउथ अष्ट्रेलिया
No comments:
Post a Comment